काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले उपसभामुख इन्दिरा राना मगरको नाम उल्लेख गरी विभिन्न सञ्चारमाध्यमहरूमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । यो विषयमा पार्टीले यसअघि नै सोधखोज गरिसकेको पनि रास्वपाले जानकारी दिएको छ ।
रास्वपाले आज एक विज्ञप्ति जारी गर्दै उक्त विषयमा पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । पुरानो पत्रलाई अहिले अनर्गल प्रचार गरेर कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको जिकिर रास्वपाको छ ।
‘केही समयअघि उक्त विषयबारे पार्टीमा सूचना आएपछि पार्टीबाट तुरुन्तै सोधखोज गरिएको थियो । सो क्रममा भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन सकेन । यसै सन्दर्भमा सम्बन्धित भनिएका व्यक्तिहरूसँग रास्वपा उपसभापति डीपी अर्यालले गर्नुभएको अडियो रेकर्डिङ हामीसँग सुरक्षित रहेको जानकारी गराउँदछौ’, कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाले रानामाथि यो विवाद झिकेर गठबन्धनले चाल गरेको जिकिर गरेको छ ।
उक्त पत्रबारे पार्टीमा सूचना आएपछि तुरुन्तै सोधखोज गरिएकोमा सिफारिस गरिएका व्यक्ति देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको रास्वपाले बताएको छ ।
धेरै राजनीतिक दलका नेताहरूले अन्तर्वार्ता मितिमात्र नभई भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको विज्ञप्तिमा भनिएकाे छ ।
