काठमाडौं । उपसभामुख इन्दिरा रानाले आफूले सदन र पदको गरिमामा आँच आउने कुनै पनि काम नगरेको प्रष्टीकरण दिएकी छन्।
अमेरिकामा एक कार्यक्रममा सहभागी हुन आफूसहित ६ जनाको भिसाको अन्तर्वार्ताका लागि नेपालस्थित अमेरिकी राजदूतावासलाई पत्र लेखेर पदको दूरुपयोग गरेको भन्दै चौतर्फी आलोचना भएपछि उपसभामुख रानाले आफूले पदको गरिमामा आँच आउने काम नगरेको प्रष्टीकरण दिएकी हुन्।
उनले भनेकी छन्, ‘मैले आजसम्म सम्मानित सदन र पदको गरिमामा आँच आउने गरी कुनै पनि काम गरेको छैन र गर्ने पनि छैन। उपसभामुखका रूपमा मैले अमेरिकालगायत अन्य देशमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा नेपालको प्रतिनिधित्व गर्दै समानता, सामाजिक न्याय र पिछडिएका वर्गको तर्फबाट निरन्तर आवाज उठाइरहेको जगजाहेर छ।’
उनले आफूले अमेरिकाकी राजदूतावासलाई अन्तर्वार्ताको लागि मिति राखिदिन मात्र अनुरोध गरेको बताएकी छन्।
