काठमाडौं । यो शनिवार साउन ५ गते देशकै ठुलो साइकल जात्रा कोरा ‘२०२४’ को १४ औं संस्करण आयोजना हुँदैछ, जहाँ करिब ४,००० साइकल यात्रीले नेपालको १५ भन्दा बढी स्थानमा दुइ लाख किलोमिटर भन्दा बढी दुरी तय गर्नेछन् । हरेक वर्ष जस्तै यो वर्ष पनि साइकलयात्रीहरुले सामाजिक कामको लागि रकम पनि संकलन गर्ने छ । यो वर्ष संकलन गरिने रकम ललितपुरको गुन्सिङ्गालमा रहेको साइकल पम्प ट्रयाक जस्तै नेपालगंजमा रहेको पम्प ट्रयाक सुधार गर्न प्रयोग गरिने छ।
सन् २०११ मा ३५ जनाबाट शुरु भएको काठमाडौँ कोरा साइकल यात्रा हरेक वर्ष पाटनको मंगलबजारबाट शुरु भइ काठमाडौँ उपत्यकाको एक फन्को लगाएर पाटनकै नागबाहालमा अन्त हुने गर्छ । साइकलयात्रीहरुले यस क्रममा आफ्नो इच्छा अनुसार ५० किलोमिटर, ७५ किलोमिटर, १०० किलोमिटर वा १४० किलोमिटरको यात्रा तय गर्नेछन् । हरेक वर्ष जुलाई महिनाको तेस्रो शनिवार आयोजना हुने कोरामा यो वर्षको काठमाडौँ कोरामा ललितपुर महानगरपालिका पनि सहआयोजकको रुपमा सहभागी भएको छ।
ललितपुर महानगरपालिकाको मेयर चिरिबाबु महर्जन भन्छन, ‘ललितपुर स्मार्ट सिटि बन्न चाहन्छ र यसको लागि नगरवासीहरुले साइकल चढ्न सक्ने वातावरण बनाइ साइकल संस्कृतिको विकास गर्न आवश्यक छ । हामीले ललितपुरमा साइकल प्रवर्धन गर्न साइकल लेन र साइकल स्टेन्ड बनाउने, र महिला साइकलयात्रीहरुलाई सहयोग गर्ने काम गरिरहेका छौं र ‘कोरा’ जस्ता स्थानीय प्रयासहरुसंगको सहकार्यले यस अभियानलाई थप टेवा दिनेछ।’
साइकल संस्कृतिको विकास गर्न महिला, बालबालिका लगायत समाजका सबै वर्गलाई समेत समावेश गर्न आवश्यक भएकोले कोराले महिला सहभागिता बढाउन विशेष प्रयास गर्दै आइरहेको छ, जसको कारण गएको वर्ष काठमाडौँ कोरामा महिलायात्रीहरुको संख्या ३४ प्रतिशत पुगेको थियो । यसै सम्बन्धमा ललितपुरका विभिन्न भागमा महिलाहरुलाई साइकल चढ्ने, साइकलको मर्मत सम्भार गर्ने र प्राथमिक उपचारको तालिमदिने कामपनि भैरहेको छ र यसमा स्थानीय महिला समुहहरु र युएसआईडी स्वच्छ हावा आयोजनाको समेत सहभागिता रहेको छ।
कोरा आयोजनाको मूल उदेश्य देशभरि नै साइक्लिस्ट समुदायहरु विकास गरि साइकल संस्कृतिको प्रवर्धन गर्नु हो । यसमा सोसल टुर्स, साइकल सिटि नेटवर्क नेपाल, पाङ्ग्रो, ललितपुर महानगरपालिका, ग्क्ब्क्ष्म् स्वच्छ हावा, अष्ट्रेलियन राजदुतावास, नबिल बैंक, टर्किस एअरलाइन्स, हिमालयन एभेरेस्ट इन्स्युरेन्स लगायत विभिन्न संघ संस्थाले सहकार्य गरेका छन्।