शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल वितरण, साउन १ गते देखि ब्याजदर परिबर्तन

मंगलबार, साउन १ २०८१

काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी वचत वृद्धि अवकाश कोषका सहभागीहरुलाई नियमित ब्याजका अत्तिरिक्त आर्थिक वर्ष २०७९/८० को नाफाबाट एक दशमलव २५ प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष सञ्चालक समितिले उक्त प्रतिफल दिने निर्णय गरेको हो । आव २०७९/८० को नाफाबाट तत्कालिन सहभागीहरुलाई २०७९ चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिइने छ।

यसरी प्रतिफल वितरण गर्दा वचत वृद्धि अवकाश कोषका साढे तीन लाख सहभागीहरुलाई करिब एक अर्ब ६६ करोड रुपैयाँ वितरण हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए।
ब्याजदर परिबर्तन, कुन योजनाको कति?

कोष सञ्चालक समितिको निर्णय अनुसार चालु आवको साउन १ देखि ब्याजदर परिवर्तन भएको छ । परिवर्तित ब्याजदर अनुसार कर्मचारी वचत वृद्धि अवकाश कोषका सहभागीलाई दिइने ब्याजदर छ दशमलव ५० प्रतिशत कायम भएको छ । यो योजनाको ८० प्रतिशत ऋण सापटीको ब्याजदर आठ प्रतिशत निर्धारण भएको छ । यस अघि यसको ब्याजदर आठ दशमलव पाँच प्रतिशत रहेको थियो।

नागरिक एकांक योजनाको संस्थागततर्फ ब्याज सात प्रतिशत र व्यक्तिगततर्फ सात दशमलव ५० प्रतिशत निर्धारण गरिएको छ । यसैगरी उपदान तथा पेन्सन योजनामा पाँच दशमलव ५०, लगानीकर्ता अवकाश कोष योजनामा पाँच दशमलव ५०, नार्क बीमा कोषमा छ र राष्ट्रसेवक जीवन बीमा कोषको पाँच दशमलव ५० प्रतिशत ब्याजदर कायम गरिएको छ।

कर्जाको ब्याजदर तर्फ शैक्षिक कर्जाको हकमा आठ दशमलव ५०, आवाश कर्जामा आठ दशमलव ५०, सरल कर्जामा नौं र सवारी कर्जामा नौं प्रतिशत कायम भएको छ । यसपूर्व शैक्षिक कर्जामा नौं दशमलव ५० प्रतिशत, आवाश कर्जामा नौं प्रतिशत, सरल कर्जामा नौं दशमलव ५० प्रतिशत र सवारी कर्जामा नौं दशमलव ५० प्रतिशत ब्याजदर रहेको थियो । कोषले सहभागीहरुलाई प्रदान गर्ने ब्याज र कर्जामा लिने ब्याजदर प्रत्येक त्रयमासमा पुनरावलोकन गर्ने गरेको ।