शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सेटिङमा आईपिओ जारी गर्ने रिलायन्सको कार्यमा लाग्यो ब्रेक

सार्वजनिक लेखा समितीले धितोपत्र बोर्डसंग स्पष्टीकरण मागेपछि कम्पनीका सञ्चालकहरु तनावमा

बुधबार, असार २६ २०८१

काठमाडौं । सेटिङमा वास्तविक अवस्थाभन्दा निकै महंगो मुल्यमा साधारण सेयर जारी गर्नै रिलायन्स स्पिनिङ मिल्सको कार्यमा ब्रेक लागेको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङ मिल्सलाई महँगो मूल्यमा सर्वसाधारणलाई आईपीओ बिक्री गर्न दिएको बारे नेपाल धितोपत्र बोर्डसँग स्पष्टीकरण सोधेसंगै तत्कालको लागि कम्पनीको उक्त कार्यमा ब्रेक लागेको हो।

कम्पनीको वित्तीय अवस्था निकै नैं खराब रहेको भएपनि धितोपत्र बोर्डसंगको मिलेमतोमा कम्पनीले निकै नैं महँगो मुल्यमा साधारण शेयर निष्काशन गर्ने प्रकृया सुरु गरेको थियो । कम्पनीको यो कदमबिरुद्ध प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले मंगलबार धितोपत्र बोर्डसँग विभिन्न पाँच प्रश्नको जवाफ मागेपछि अहिले कम्पनीका सञ्चालकहरुको निद हराम भएको छ।

सार्वजनिक लेखा समितिले मंगलबारको मितीले सात दिनभित्र जवाफ पेश गर्ने गरी उक्त कम्पनीको आधारमूल्य निर्धारण गर्नुको आधार के हो ?, बुक बिल्डिङमा आउने कम्पनीको आधारमूल्य तय गर्ने अधिकार कसलाई छ र यसको प्रक्रिया के हो ? जवाफ पेश गर्न निर्देशन दिएको छ । कम्पनीले गत आर्थिक वर्षको आफ्नो वित्तीय विवरणमा प्रतिसेयर आम्दानी ५४ रुपैयाँँ ३४ पैसा रहेको उल्लेख गरेको तर अहिले एक वर्ष नपुग्दै उक्त आम्दानी घटेर दुई रुपैयाँ आठ पैसामा सीमित हुनुको कारण पनि सोधेको छ । समितिले यसअघि वित्तीय विवरण तयार गर्दा मेनुपुलेसन भएको अनुमान गर्न किन नसकिने भनेको छ।

सर्वसाधारण र संस्थागत लगानीकर्तालाई कम्पनीको तर्फबाट जारी गरिएकोे आह्वान पत्रमा आर्थिक वर्ष २०७९/८०मा प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा, आर्थिक वर्ष २०८०/८१ मा ३२ रुपैयाँ ९० पैसा, २०८१/८२ मा ३२ रुपैयाँ ८९ पैसा र २०८२/८३ मा ५३ रुपैयाँ ९३ पैसा हुने प्रक्षेपण गरिएको थियो । तर कम्पनीबाट प्रकाशित आर्थिक वर्ष २०८०/८१को चैत सम्मको वित्तीय विवरणमा प्रतिसेयर आम्दानी दुई रुपैयाँ आठ पैसा मात्र देखिएको हुँदा प्रक्षेपित विवरण र वास्तविकतामा सामन्जस्यता नदेखिएको भन्दै के भएको हो सोको स्पस्ट जवाफ उपलब्ध गराउन सार्वनिक लेखासमितीले निर्देशन दिएको छ।

कम्पनीमा बुक विल्डिङका लागि विड गर्न योग्य संस्थागत लगानीकर्ताको उक्त कम्पनी वा कम्पनीका सञ्चालकहरूसँग स्वार्थ बाझिएको छ कि छैन ? बुक विल्डिङमा कुन संस्थागत लगानीकर्ताले कति मूल्यमा कति कित्ता सेयरका लागि आवेदन दिएका थिए सोको विस्तृत विवरण उपलब्ध गराउन पनि भनेको छ । कम्पनीले तीनवटा आर्थिक वर्षमा फरक—फरक प्रतिसेयर आम्दानी (हरेक वर्ष घट्दै गएको) सार्वजनिक गरेको देखिएकोले सर्वसाधारण लगाानीकर्ताको लगानी सुरक्षा सम्बन्धमा नेपाल धितोपत्र बोर्डंसंग आधिकारिक धारणा समेत माग गरेको छ।