काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सुचीकृृत कम्पनीहरुको कुल बजार पुँजीकरण बढेको छ । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्ड समेतबाट साभार गरी सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको २०८१ को बैशाख मसान्तसम्ममा नेप्सेमा सुचीकृत भएका कुल दुई सय ७२ वटा कम्पनीहरुको कुल बजार पुँजीकरण ३१ खर्ब ६९ अर्ब ४८ करोड रुपैंयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार यो बजार पुँजीकरण गत आवको सोही अवधिको तुलनामा झण्डै पाँच खर्ब रुपैंयाँले बढी हो।
गत आवको सोही अवधिमा नेप्सेमा सुचीकृत रहेका दुई सय ५३ वटा कम्पनीहरुको कुल बजार पुँजीकरण २६ खर्ब ५७ अर्ब ७६ करोड रुपैंयाँ रहेको थियो । यस अवधिमा नेप्से परिसुचक १८ सय २१ दशमलव ६५ बिन्दुमा सिहित रहेको थियो । चालु आवको बैशाख मसान्तसम्मममा भने नेप्से परिसुचक १९ सय ९८ दशमलव ८९ बिन्दुमा सिमित रहेको छ । राष्ट्र बैंकका अनुसार २०८१ बैशाख मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको कम्पनीहरुको कुल संख्या दुई सय ७२ पुगेको छ । सूचीकृत कम्पनीहरु मध्ये एक सय ३४ बैंक तथा वित्तीय संस्थाहरु र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, सात वटा होटल, सात वटा लगानी कम्पनी, चार वटा व्यापारिक संस्था र सात वटा अन्य समूहका रहेका छन् । २०८० बैशाखमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय ५३ रहेको मध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८ दशमलव चार प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १४ दशमलव चार प्रतिशत, लगानी कम्पनीको हिस्सा सात दशमलव तीन प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा छ दशमलव आठ प्रतिशत, होटेलको हिस्सा दुई दशमलव नौं प्रतिशत, व्यापारिक संस्थाको हिस्सा शुन्य दशमलव पाँच प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा नौं दशमलव ९८ प्रतिशत रहेको छ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा २०८१ बैशाख मसान्तमा सूचीकृत आठ अर्ब २८ करोड शेयरको चुक्ता मूल्य भने आठ खर्ब २० अर्ब ९३ करोड रुपैंयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को १० महिनामा ८४ अर्ब ९९ करोड बराबरको साधारण शेयर, २० अर्ब ४० करोड बराबरको बोनस शेयर, २० अर्ब एक करोड बराबरको हकप्रद शेयर, र तीन करोड बराबरको एफपीओ गरी कुल एक खर्ब २५ अर्ब ४४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । यस अवधिमा नेपाल धितोपत्र बोर्डले नौं अर्ब ८० करोड बराबरको साधारण शेयर, छ अर्ब दुई करोड बराबरको डिबेन्चर, पाँच अर्ब ४६ करोड बराबरको हकप्रद शेयर र तीन अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड गरी कुल २४ अर्ब ७८ करोड रुपैंयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । पछिल्लो समय भने नेपाल धितोपत्र बोर्ड अध्यक्ष बिहिन भएका कारण नयाँ सेयर निष्काशनको लागि बिभिन्न कम्पनीहरुले आवेदन दिएको भएपनि अनुमती पाउन सकेका छैंनन्।
बोर्डमा नयाँ अध्यक्ष नियुक्तीको लागि राजनीतिक एवं व्यापारीक समुह हावी हुँदा बिगत केही महिनादेखि बोर्ड अध्यक्ष बिहिनको अवस्थामा रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका सभापति केपी शर्मा ओली र अर्थमन्त्री बर्षामान पुनबिचको त्रिपक्षीय असमझदारीकाकारण बोर्डले नयाँ अध्यक्ष पाउन नसकेको हो । बोर्डमा आफ्नो मातहतको व्यक्तिलाई अध्यक्ष बनाएर आफ्नो स्वार्थ सिद्ध गर्न ठुला, ठुला व्यापारीक घराना पनि लागि परेका छन । यिनैको प्रभावमा सरकारको नेतृत्व गरिरहेको दल र गठबन्धन एवं अर्थमन्त्री पुन समेत परेकाकारण धितोपत्र बोर्डका अध्यक्ष नियुक्ती प्रकृया पेचिलो बन्दै गएको हो।