काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संस्थापक महामन्त्री मुकुल ढकाललाई महामन्त्री पदबाट निष्काशित गरेको छ ।
आज विहान वनस्थलीस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय समिति बैठकले अनुशासन आयोगको सिफारिसअनुसार ढकाललाई निष्काशन गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । रास्वपाका अनुसार ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहेका छन् ।
‘पार्टी विधानको धारा ५६ (३) बमोजिम पार्टीको साधारण सदस्य कायम राखी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरियो’, बैठकका निर्णय सुनाउँदै झाले भने ।
पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै १४ असारमा उनलाई पार्टी अनुशासन आयोगले स्पष्टीकरण सोधेको थियो । १९ असारमा केन्द्रीय समितिले नै महामन्त्री पदबाट ढकाललाई सात दिनका लागि निलम्बित गरेको थियो ।
ढकालमाथि समीक्षा प्रतिवेदन पार्टीमा बुझाउनुभन्दा पहिले मिडियामा सार्वजनिक गरेको, केन्द्रीय समिति बैठक लाइभ प्रसारण हुनुपर्ने माग सुनुवाइ नभएको भन्दै कालोटेप लगाएर बसेको र पार्टी सभापतिविरुद्ध अभिव्यक्ति दिएको आरोप छ ।
गत बुधबारको रास्पाको बैठकले मुकुललाई सात दिनका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । उनीमाथि थप कारबाही सिफारिस गर्न अनुशासन आयोगलाई जिम्मा दिइएको थियो । आयोगले ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको थियो ।