९ वर्षपछि माओवादी प्रतिपक्षमा पुग्दै
काठमाडौं । जादुमयी नम्बर देखाएर सधैँ सत्ताको बागडोर सम्हाल्ने अभिलासामा रहेका प्रधानमन्त्री प्रचण्डको बालुवाटारबाट खुमलटार फर्किने साइत आउने असार २८ गते शुक्रबार जुर्ने भएको छ ।
यसैबीच विश्वासको मत पाउने सम्भावना क्षीण भएपछि प्रचण्डले ललितपुरको खुमलटारस्थित आफ्नो निवासमा सर्ने तयारी थालिसकेका छन् । खुमलटारमा रहेको निवासमा आवश्यक सरसफाई गरेर बालुवाटारबाट सामान सार्न थालिएको स्रोतले बतायाे ।
विगत झण्डै दुई वर्षलाई हेर्ने हो भने ३२ सिट रहेको माओवादीका अध्यक्षले प्रचण्डले ठूला दुई दललाई विरालो खेलाए झै खेलाए । कांग्रेससँग पाँच दलीय गठबन्धन गरेर ३२ सिटमा चुनाव जितेको माओवादी कहिले एमाले त कहिले कांग्रेसको काँधमा चढेर सत्तामा बसिरह्यो ।
प्रचण्डको जादुयी अंकले काम गर्न छाडेपछि संघमा मात्रै होइन, सबै प्रदेश सरकारबाट माओवादीले हात धुन परेको छ ।
प्रधानमन्त्री प्रचण्डले आफूसँग जादुयी नम्बर रहेको भन्दै असार ८ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै तरिका मिले पाँचै वर्ष प्रधानमन्त्री बन्ने बताएका थिए । त्यसबाट तर्सिएर एमाले कांग्रेसले सहमति गरेको धेरैले अनुमान गरेका छन् ।
कांग्रेससँग गठबन्धन गरेर २०७९ को चुनाव लडेका माओवादी अध्यक्ष प्रचण्ड गत वर्षको पुस १० गते एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । तर, माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गरेपछि एमाले सरकारबाट बाहिरियो । त्यसपछि उनले कांग्रेसलाई सरकारमा सामेल गराएका थिए । फेरि उनले गत फागुन २१ मा एमालेलाई सरकारमा भित्त्राएर कांग्रेसलाई प्रतिपक्षमा धकेलेका थिए । यो खेलदेखि आजित बनेका एमाले कांग्रेसले नयाँ समीकरण बनाए ।
ढिलै भएपनि अन्ततः कांग्रेस एमालेले प्रचण्डको रणनीति बुझेर गत सोमबार कांग्रेस एमालेबीच सत्ता सम्हाल्ने गरी समीकरण बन्यो ।
यसबीचमा यो समीकरणमा पनि खेल खेल्ने अभिप्रायले प्रचण्ड खेलका गोटी कहिले कता कहिले कता चालिरहेका छन् । अल्पमतमा परेका उनी राजीनामा दिनुको साटो संविधानको एउटा छिद्र खोजेर प्रधानमन्त्री पद लम्ब्याउँदै तानाबाना बुन्दैछन् । भरसक आफैँ सत्तामा रहन कहिले छिमेकीकोकम आफ्नो टोली हार गुहार गर्न पठाउँछन् त कहिले कांग्रेसकै नेता शेखर कोइरालालाई बालुवाटार बोलाएर एमाले-कांग्रेसको समीकरण भत्काउने प्रपञ्च रच्छन् ।
प्रष्ट अल्पमतमा रहेका प्रधानमन्त्री प्रचण्डका पछिल्ला गतिविधि र व्यवहारका कारण नत उनी नत उनको दललाई राम्रो हुन्छ । उनको यो गतिविधिले भविष्यमा हुनसक्ने एमालेसँगको सहकार्यमा पनि ठेस पुग्ने देखिन्छ ।
प्रतिनिधिसभाका दुई ठूला दल कांग्रेस र एमालेले मिलेर सरकार बनाउने सहमति गरेपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ । राजनीतिमा अप्रत्यासित उलटफेर नभए पटक पटक प्रचण्डबाट धोखा पाएका कांग्रेस र एमालेको मिलनपछि माओवादी करिब ९ वर्षपछि प्रतिपक्षमा धकेलिने निश्चित छ ।
प्रतिनिधिसभामा ७७ सीट रहेको एमालेले समर्थन फिर्ता लिएको र ठूलो दल नेपाली कांग्रेसले पनि एमालेसँगै गठबन्धनको सहमति गरेकाले प्रचण्डले विश्वासको मत पाउने स्थिति भने देखिन्न ।
कसैगरी आफ्नो प्रधानमन्त्रीको पद नजोगिने भएपछि उनी अझ एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिने योजनामा छन् ।
कांग्रेस र एमालेबीच केपी ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी भएको छ ।
सुरुको चरण एमाले अध्यक्ष ओलीले, दोस्रो चरणमा कांग्रेस सभापति देउवाले सरकार चलाउने छन् ।
सरकारका काम कारवाहीका विषयमा असन्तोष प्रकट गरेको एमालेले प्रचण्ड सरकारले ल्याएको बजेटका विषयमा पछिल्लो समय असन्तुष्टि जनाउँदै आएको थियो । त्यसमा पनि प्रचण्डले एमालेलाई सत्ता बाहिर राख्ने गरी बढाएको गतिविधिकै कारण एमाले-कांग्रेसको समीकरण बनेको एमालेको भनाइ छ ।
एमालेसँगको सहकार्यका साथै भारतबाट फर्केपछि प्रचण्डले कांग्रेससँग राष्ट्रिय सहमतिको सरकारको प्रस्ताव राखेकै कारणले आफूहरुले नयाँ कदम चाल्नु परेको एमालेका नेताहरुको दाबी छ । त्यस विषयमा एमालेले लगाएको आरोप माओवादीका नेताले प्रतिकार गर्न सकेका छैनन् । बरु कांग्रेसकै महामन्त्रीसमेत रहेका नेता गगन थापाले पनि त्यसको पुष्टि गरेका छन् ।
प्रचण्डले कहिले कांग्रेस, कहिले एमालेलाई धोखा दिएको भन्दै कांग्रेस नेताहरुले धोखा पाएकाहरु एकै ठाउँमा भए भने तपाईंको के हुन्छ भनेर निरन्तर चेतावनी दिँदै आएका थिए ।
प्रचण्ड नेपालको संविधानको ७६ (२) अनुसार प्रधानमन्त्री बनेको र अब आफूले विश्वासको मत लिएपछि ३ मा जानुपर्ने माओवादीका नेताहरुको अडान छ । कांग्रेस-एमालेबीच २ अनुसार नै एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने सहमतिमा हस्ताक्षर भइसकेको छ ।
यद्यपि, ३ मा जाँदा देउवा प्रधानमन्त्री हुने र सहमति भाँडेर फेरि सत्ताको खेलमा लाग्नसक्ने माओवादीको दाउ छ । नयाँ सरकार गठन अब राष्ट्रपतिको हातमा भएकाले प्रचण्डको यो प्रयास सफल हुने सम्भावना देखिएको छैन ।
सत्तामा रहेका माओवादी, रास्वपा र नेकपा एकीकृत समाजवादीको मात्रै विश्वासको मत पाउने स्थितिमा प्रचण्ड छन् । यी दलको जम्मा मत ५३ छ । राप्रपा, जसपा नेपाल, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्तिले भने कांग्रेस र एमालेको समीकरणलाई सहयोग गर्ने देखिएको छ ।