काठमाडौं । नेकपा एमालेले अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तुरुन्तै राजीनामा दिनुपर्ने माग गरेको छ ।
सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले सांसद ठाकुर गैरेले सरकार अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनका लागि सहजता प्रदान गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।
गैरेले दुई ठूला दल एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति भईसक्दा पनि प्रधानमन्त्रीले राजीनामा नदिएको बताए ।
उनले प्रधानमन्त्रीले नयाँ सरकार बन्न नदिनका लागि संविधानमा प्वाल खोजिरहेको आरोप लगाए । उनले प्रधानमन्त्रीले नयाँ बन्ने सरकारलाई अस्थिरता, विभाजन र बेथितितिर लैजान सकिन्छ कि भनेर प्रयास गरिरहेको पनि बताए । बहुमत गुमाएपछि सरकारमा एक सेकेण्ड बस्न पनि नैतिक आधार नरहने भन्दै कुनै धारा वा उपधारा नखोज्न उन आग्रह गरे ।
‘सरकारको कुरा के गर्नु सभामुख महोदय । हामीले बेला बेलामा पढ्दै र सुन्दैआएको कुरा रोम जलिरहेको बेला त्यहाँका राजा बाँसुरी बझाएर बसिरहेका थिए। भनेजस्तै हाम्रा अल्पमतका प्रधानमन्त्री बाँसुरी बझाईरहनु भएको छ । सरकार घोर अल्पमतमा परेको छ । यस्तो पनि हुँदो रहेछ जिन्दगीमा भनेर गीत गाएर बसेको छ । बरु उडायो सबै सपना हुरी भन्ने गीत गाए हुने’ उनले भने ।