बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमाले-कांग्रेसबीच ७ बुँदे सम्झौता, यी विषयमा हुँदैछ संविधानमा संशोधन

मंगलबार, असार १८ २०८१

काठमाडौं ।सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणका लागि सहमति गरेका छन् ।

गए राति दुई दलबीच संविधान संशोधनलगायत कार्यसूची (एजेण्डा)सहित सहमतिको नयाँ सरकार बनाउन सहमति भएको कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

जसमा निर्वाचन प्रणाली, समानुपातिक निर्वाचन प्रणालीलाई थप साँघुरो बनाएर स्थानीय निकाय समेत फेरबदल गर्ने विषयमा सहमति भएको छ ।

लामो छलफल र गृहकार्यपछि तयार गरिएको नयाँ सत्ता समीकरणसहितको सहमतिपत्रमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राति नै हस्ताक्षर गरेका छन् ।

प्रमुख ती दुई दलका बीचमा निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने समझदारी पनि बनेको बताइएको छ । दुवै पार्टीले आन्तरिक रूपमा थप छलफल गरेपछि नयाँ बन्ने सरकारमा मन्त्रालयगत जिम्मेवारीसम्बन्धी निष्कर्षमा पुग्ने जनाएका छन् ।

नयाँ सत्ता समीकरणका लागि सभापति देउवा र अध्यक्ष ओलीबीच केही दिन नियमित रूपमा छलफल हुँदै आएको थियो ।

सम्झौताका मुख्य बुँदा

१.ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने ।

२.प्रदेश सरकारहरुमा ३र३ वटा सरकार बाँड्ने । मधेस प्रदेशमा चाहिँ मधेसकेन्द्रित दलकै नेतृत्व दिने ।

३.संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी ।

४.प्रतिनिधिसभा र राष्ट्यि सभा दुवैको सिटसंख्याबारे पनि पुनर्विचार गर्ने ।

५.पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्ने ।

६.संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने ।

७.प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने ।