बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ढल्दै प्रचण्ड सरकार, के हाेला जादुवाला नम्बर ?

तत्काल राजीनामा नदिने मुडमा प्रचण्ड

मंगलबार, असार १८ २०८१

काठमाडौं । संसदका  प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ सरकार बनाउने सहमति भएसँगै प्रचण्ड नेतृत्वको सरकार ढल्ने भएको छ ।

केही दिन अघि मात्र उनले माओवादी केन्द्रसँग संसदमा जादुयी नम्बर रहेका कारण आफ्नो सरकार पाँचै वर्ष टिक्ने दाबी गरेका थिए । त्यसको केही दिन वित्न नपाउँदै वर्तमान प्रचण्ड नेतृत्वको सरकार ढल्न लागेको हो । ‘हाम्रो जादुवाला नम्बर छ । त्यो जादुले जे गरेर भएपनि मिलाइहाल्छ । गठबन्धन पाँचैवर्ष जान्छ, त्यसकारण चिन्ता लिनुपर्दैन ।’ उनले भनेका थिए । ‘मैले जे देखेको छु सबै परिस्थिति, तरिका मिल्यो भने पूरै अवधि बसिन्छ। हामीलाई हटाउन सजिलो छैन।’

तर एकाएक केहीदिन यता नेपाली राजनीतिले नयाँ काेर्ष लिन लागेकाे छ । एमाले माओवादीकाे सरकार ढल्दै कांग्रेस-एमालेकाे सरकार बन्ने लगभग पक्का पक्की भएकाे छ ।

संसदका दुई ठूला दलबीचको सहमति अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार विघटनको संघारमा पुगेको छ ।

दुई दलबीच भएको सहमतिअनुसार, पहिले एमाले अध्यक्ष ओली र त्यसपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नेछन्।

अहिले एमाले अध्यक्ष ओलीको नेतृत्वको सरकार बन्ने सहमति भएको छ भने त्यसपछि चुनावसम्म कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने सहमति बनेको छ।

त्यस्तै, दुई दलबीच संविधान संशोधन गर्ने विषयमा पनि सहमति भएको छ। समानुपातिक प्रतिनिधित्वका रुपमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभामा लैजाने सहमति बनेको हो। उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरिने संविधान संशोधन गर्न दुवै दल तयार भएका छन्।

यससँगै प्रदेश सरकार गठन, स्थानीय तहको संख्या, प्रदेश सभाको समानुपातिक सांसदको संख्या लगायतका विषयमा पनि दुबै दलले सहमति गरेका छन्।

कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका छन् । लामो र सघन गृहकार्यपछि दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

गए राति भएको सहमतिलाई दुवै दलले आआफ्नो पार्टीको बैठकबाट अनुमोदन गराएर आज हस्ताक्षर गर्ने भएका छन्।

यता प्रधानमन्त्री प्रचण्डले भने तत्काल राजीनामा नदिने संकेत गरेका छन् । नयाँ सत्ता समीकरण बनेसँगै अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्ड राजनीतिक परामर्शमा छन् ।

उनले अहिले केहीबेरमा आफ्नै दल माओवादी केन्द्रका पदाधिकारीहरुको बैठक बोलाएका छन् । त्यसपछि सत्ता गठबन्धनमा रहेका दलहरुसँग पनि परामर्श गर्ने तयारी छ ।

प्रधानमन्त्री राजीनामा दिने कि संसदमा विश्वासको मत लिने भन्ने छलफलमै रहेका उनी निकट स्रोतले जनायो । एमालेले समर्थन फिर्ता लिए तीस दिन भित्र उनले फेरि विश्वासको मत लिनुपर्ने छ ।

उनले विश्वासको मत नपाए नयाँ सरकार गठनको बाटो खुल्छ ।