बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ओलीको नेतृत्वमा सरकार बनाउन कांग्रेस र एमालेबीच सहमति, यस्ताे छ सहमति

मंगलबार, असार १८ २०८१

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता साझेदारी गर्नेगरी सहमतिनजिक पुगेका छन् ।

दुई दलबीच सहमति भइसके पनि हस्ताक्षर हुन बाँकी रहेको कांग्रेस नेताहरुले बताएका छन् ।

कांग्रेस र एमालेबीच केपी शर्मा ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी भएको छ ।
सुरुको चरण एमाले अध्यक्ष ओलीले, दोस्रो चरणमा कांग्रेस सभापति देउवाले सरकार चलाउने छन् ।

संविधानको धारा ७६ (२) अन्तर्गतकै सरकार बनाउन चाहेका यी दलले संविधानको व्याख्याबारे राष्ट्रपति कार्यालयको स्पष्टता चाहेका छन् ।

यसैबिच नयाँ सरकार गठनबारे काँग्रेस र एमालेका नेताहरू मध्यरातमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका थिए ।

यसअघि ललितपुरमा एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकसहितको छलफलमा यो समझदारीको प्रारम्भिक खाका तयार भएको थियो ।

सहमति अनुसार एमालेले प्रधानमन्त्री अर्थमन्त्रीसहितका मन्त्रालयहरू पाउने भएको छ भने काँग्रेसले गृहसहितको मन्त्रालय पाउने भएको छ।

संविधान संशोधन रहेकाले दुई तिहाइ पुर्‍याउन संसदका साना दलहरू लोसपा र राप्रपालाई पनि सरकारमा ल्याउने तयारी छ । दुई तिहाइ पुर्‍याउन आउने पार्टीलाई पनि मन्त्रालय दिने गरी अध्यक्ष ओली र सभापति देउवाबिच समझदारी भएको छ।

संविधान संशोधन गरेर निर्वाचन प्रणाली सुधार, प्रतिनिधिसभा तथा प्रदेशसभा संख्या घटाउने, स्थानीय तहको संख्या घटाउने विषयमा पनि सहमत भएका छन् । उनीहरुले संविधान संशोधनका लागि प्रारम्भिक सहमतिको खाका तयार गरेका छन्, जसमा समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी छ ।

सहमतिमा प्रदेश सरकारको पनि बाँडफाँट गरिएको छ । जसअनुसार, एमालेले कोशी, लुम्बिनी र कर्णाली पाउने छ भने काँग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गर्ने छ । मधेस प्रदेशमा मधेसकेन्द्रीत दललाई नेतृत्व दिने सहमति छ ।