पछिल्लो एक बर्षमै थपियो ४० अर्ब ४० करोड रुपैंयाँ
काठमाडौं । बैंकहरुलाई निस्क्रिय कर्जाको व्यवस्थापन गलपासो बन्दै गएको छ । अर्थतन्त्र कमजोर भएकै कारण बजारमा गएको कर्जाको तत्कालन सावाँ व्याज उठ्ने संभावना भएको र पुरानो कर्जाबाट पनि नियमितरुपमा कर्जाको सावाँ व्याज प्राप्त गर्न नसकेपछि बैंकहरुलाई निस्क्रिय कर्जाको व्यवस्थापन कार्य गलपासो बन्दै गएको हो । चालु आर्थिक बर्ष सकिन झण्डै एक महिना मात्र बाँकी रहंँदा अहिले बैंकहरुले नयाँ कर्जा दिन पुर्णरुपमा बन्द गरेका छन् भने आफ्नो सम्पुर्णै ध्यान पुराना कर्जाको साँवा व्याज असुलीमा दिएका छन् । यसो गर्नुको प्रमुख कारण बैंैकिङ क्षेत्रमा बढ्दै गएको निस्क्रिय कर्जा हो।
बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह सम्वन्धी नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार अहिले सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंक, क्षेत्रिय र राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स सहितका कुल ५४ वटा संस्थाहरुमा पछिल्लो एक बर्षमा मात्र ४० अर्ब ४० करोड ८७ लाख ३० हजार रुपैंयाँ निस्क्रिय कर्जा थपिएको छ । सो अनुसार गत आवको पछिल्लो १० महिनामा बैंक तथा फाईनान्स कम्पनीहरुमा कुल निस्क्रिय कर्जा एक खर्ब ६२ अर्ब ८२ करोड २३ लाख रुपैंयाँ रहेकोमा चालु आर्थिक बर्षको पछिल्लो १० महिनामो यस्तो कर्जा ४० अर्ब ४० करोड ८७ लाख रुपैंयाँले बढेर कुल दुई खर्ब तीन अर्ब २३ करोड १० लाख रुपैंयाँ पुगेको छ।
राष्ट्र बैंकका अनुसार बाँणिज्य बैंकहरुमा मात्र पछिल्लो समय निस्क्रिय कर्जा बढेर एक खर्ब ७५ अर्ब ४८ करोड २१ लाख रुपैंयाँ पुगेको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा ३५ अर्ब ९३ करोड ९० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बाँणिज्य बैंकहरुमा निस्क्रिय कर्जाको अनुपात एक खर्ब ३९ अर्ब ५४ करोड ३० लाख रुपैंयाँ रहेको थियो । बाँणिज्य बैंक जस्तै बिकास बैंकहरुमा पनि पछिल्लो अवधिमा निस्क्रिय कर्जाको बढेको छ । राष्ट्र बैंकका अनुसार गत आवको १० महिनामा बिकास बैंकहरुमा कुल १५ अर्ब ७१ करोड १२ लाख ३० हजार रुपैंयाँ निस्क्रिय कर्जा रहेको थियो । चालु आवको पछिल्लो १० महिनामा बिकास बैंकहरुमा यस्तो कर्जा दुई अर्ब ३१ करोड ३२ लाख ८० हजार रुपैंयाँले बढेर कुल १८ अर्ब दुई करोड ४५ लाख १० हजार रुपैंयाँ पुगेको छ।
फाईनान्स कम्पनीहरुमा पनि पछिल्लो समय निस्क्रिय कर्जा उच्चरुपमा बढेको छ । राष्ट्र बैंकका अनुसार फाईनान्स कम्पनीहरुमा अहाल १० अर्ब ३५ करोड ८९ लाख ८५ हजार रुपैंयाँ कर्जा निस्क्रिय रहेको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा दुई अर्ब ७७ करोड ४४ लाख ७४ हजार रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा फाईनान्स कम्पनीहरुमा यस्तो कर्जा सात अर्ब ५८ करोड ४५ लाख रुपैंयाँ रहेको थियो।
राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो १० महिनामा प्रतिशतका आधारमा भने बैंक तथा फाईनान्स कम्पनीहरुमा औषतमा तीन दशमलव ९८ प्रतिशत कर्जा निस्क्रिय रहेको छ । जसमध्ये बाँणिज्य बैंकहरुमा तीन दशमलव ८९ प्रतिशत कर्जा निस्क्रिय रहेको भने बिकास बैंकहरुमा तीन दशमलव ६३ प्रतिशत कर्जा निस्क्रिय रहेको छ । फाईनान्स कम्पनीहरुमा भने यस्तो कर्जाको अनुपात १० दशमलव ४० प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने बैंक तथा फाईनान्स कम्पनीहरुमा औषतमा तीन दशमलव ३४ प्रतिशत कर्जा मात्र निस्क्रिय रहेको थियो । जसमध्ये बाँणिज्य बैंकहरुमा तीन दशमलव २३ प्रतिशत कर्जा निस्क्रिय रहेको थियो भने बिकास बैंकहरुमा तीन दशमलव ४० प्रतिशत कर्जा निस्क्रिय रहेको थियो । उक्त अवधिमा फाईनान्स कम्पनीहरुमा भने कुल आठ दशमलव १९ प्रतिशत कर्जा निस्क्रिय रहेको थियो।