काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार बालकोटमा भएको भेटवार्ता पछि प्रधानमन्त्री प्रचण्ड सशंकित बनेका छन् ।
देउवाले ओलीसँग सरकारको नेतृत्व गर्नेगरि दुई दल मिलेर जान प्रस्ताव गरेको समाचार बाहिरिएसँगै प्रधानमन्त्री प्रचण्ड त्रसित बनेका हुन् ।
शनिबार ओली र देउवाबीच बालकोटमा ३ घण्टा लामो छलफल भएको थियो । सो छलफलमा राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा हेरफेर र आर्थिक अवस्था सुधारका लागि प्रमुख दुई दल मिल्नुपर्ने विषयमा केन्द्रीत रहेको स्रोतको दाबी छ ।
पछिल्लो समय कांग्रेस र एमालेबीच सत्ता सहकार्यको बारेमा दुवै दलका दोस्रो तहका नेताहरुले नेतृत्वसमक्ष दबाब सिर्जना गरेका छन् ।
यता ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच सम्बन्ध चिसिएको चर्चा चलेको छ ।
बजेटको विषयमा ओलीले सार्वजनिक रुपमै आलोचना गर्नुले पनि प्रधानमन्त्री दाहालसँग उनको सम्बन्ध चिसिएको भनेर आँकलन गरिएको थियो ।
देउवाले बालकाेट पुगेर भेटवार्ता गरेसँगै त्रसित बनेका प्रधानमन्त्री प्रचण्डले एका बिहानै ओलीसँग टेलिफोनमा संवाद गरेका छन् । उनीहरुबीच भेटर छलफल गर्नेसम्मको कुराकानी भएको स्रोतले बतायो ।
विहान प्रधानमन्त्रीले अध्यक्ष ओलीसँग टेलिफोनमा कुराकानी गरेपछि दुई नेताबीच भेट तय भएको हाे । केहीबेरमा प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
शनिवार कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भएको वार्ताले माओवादी पंक्ति तरंगित भएको छ ।
प्रधानमन्त्रीले माओवादी नेताहरुसँग समेत ओली र देउवाबीचको छलफलबारे बिश्लेषण गरेका छन् ।