शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

देउवा र ओलीबीचको भेटवार्ताले पार्टीभित्र तरंग

आइतबार, असार १६ २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भक्तपुरको बालकोटमा झण्डै तीन घण्टा लामो छलफल भएको छ ।

प्रमुख दुई ठूला दल कांग्रेस र एमालेका शीर्ष नेताबीच भएको भेटवार्तालाई अहिले अर्थपूर्ण रुपमा हेरिएको छ ।
पत्नी डा आरजु राणासहित सभापति देउवा बालकोट गएका थिए ।

स्वास्थ्यमा सामान्य समस्या आएर घरमै आराम गरिरहेका ओलीलाई भेट्न देउवा उनकै निवास बालकोट गएका थिए ।

दुई नेताबीच पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको कांग्रेस स्रोतले बतायो ।

कांग्रेसले सत्ता समीकरण परिवर्तन गर्न प्रयास गरिरहेको बेलामा भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सत्ता समीकरणमा विभिन्न विषयमा विवाद बढिरहेका बेला देउवा र ओलीबीचको भेटवार्ता हुनु सामान्य नभएकाे चर्चा हुन थालेकाे छ । यद्यपि दुई नेताबीच वान टु वान भेटवार्तामा भएको विषयमा केही पनि सार्वजनिक भएकाे छैन।

ओली र प्रधानमन्त्री प्रचण्डबीच सम्बन्ध चिसिएको चर्चा चलेको छ । बजेटको विषयमा ओलीले सार्वजनिक रुपमै आलोचना गर्नुले पनि प्रधानमन्त्रीसँग उनको सम्बन्ध चिसिएको भनेर आँकलन गरिएको थियो ।

कांग्रेस र एमालेका दोस्रो तहका नेताहरुले एकापसमा छलफल र संवाद चलाएर दुई पार्टीबीच सहकार्य हुनुपर्ने अभिव्यक्ति दिँदै आएकै बीच दुई शीर्ष नेताहरुबीच भएको भेटवार्ताले ती पार्टीभित्र तरंग ल्याएको छ ।

संक्रमणकालीन न्याय (टीआरसी) राजनीतिक सहमतिमै टुंग्याउन प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवासँग छलफल गर्दै आएका छन् ।