काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा मुकुल ढकालले बुधबार पार्टी सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदनको बारेमा केन्द्रीय कमिटिमा छलफल हुने भएको छ।
रास्वपाले आउँदो बुधबार यसका लागि केन्द्रीय कमिटिको बैठक बोलाएको छ।
पार्टीको केन्द्रीय कार्यलय वनस्थलिमा बस्ने बैठकमा छलफलको विषय नै महामन्त्रीको प्रतिवेदन भनिएको छ। महामन्त्रीको प्रतिवेदनपछि रास्वपाको भविश्यमाथि नै टिप्पणी भइरहेका छन्।
रास्वपा महामन्त्री डा. ढकाललाई पार्टीले निर्णय गरेर जनमत बुझ्नका लागि देश दौडाहामा पठाएको थियो । एक महिना लामो समीक्षा यात्रा पछि फर्केर उनले प्रतिवेदन तयार गरेका हुन् ।
३८ जिल्लाका नेता कार्यकर्तासँग भेटघाटपछि महामन्त्री ढकालले सभापति लामिछानेलाई बुझाएको समीक्षा यात्राले रास्वपामा नयाँ तरंग ल्याएको हो।
ढकालको प्रतिवेदनमा आज पार्टीको वर्तमान जनमतको आधारमा आज नै चुनाव हुने हो भने हम्मेहम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ला र प्रत्यक्षमा एक/दुई सिट जित्न सक्ने उल्लेख छ।
भोलिका दिनहरूमा आजकै स्थिति अनुसार अघि बढे पार्टीको हालत विवेकशीलको जस्तो हुने तर्क गरेका छन्।
समीक्षा यात्राका क्रममा सबै जनता प्रदेशको विपक्षमा रहेको पाएको भन्दै महामन्त्री ढकालले पार्टी प्रदेश खारेजीको पक्षमा अडिग भएर उभिनुपर्ने बताएका छन्।
यता रास्वपाका सांसद शिशिर खनालले महामन्त्रीले सभापतिलाई बुझाएको समीक्षा प्रतिवेदनको गम्भीरताका साथ अध्ययन हुने बताएका छन्।
विहीबारको प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्ययनको आधारमा निष्कर्षहरू आइसकेपछाडि थप प्रतिक्रिया दिनु उपयुक्त हुने बताए।
उनले भने, ‘महामन्त्रीले प्रतिवेदन हिजो सभापतिलाई बुझाउनुभयो, इलामको निर्वाचनपछि पार्टी सचिवालयले यही कुरा पत्ता लगाउन भनेर नै उहाँलाई खटाएको हो। उहाँ स्वेच्छाले भन्दा पनि पार्टीको नेतृत्वले नै केही भइरहेको छ कि ? केही समस्या छ कि भनेर पत्ता लगाउन खटाएको हो। उहाँले केही कुरा पत्ता लगाएर ल्याएको छु भनेपछि स्वाभाविक रूपमा त्यसलाई हामीले अत्यन्त गम्भीरतापूर्वक अध्ययन गर्छौँ।’