काठमाडौं । पाँच प्रतिशत भन्दा बढी सञ्चिती नोक्सानी नभएका कम्पनीले ऋण पत्र जारी गर्न पाउने भएका छन् । बुधबार नेपाल राष्ट्र बैंकले बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीह्रुको नाउँमा परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्यनमा ल्याउन निर्देशन दिएको हो । इजाजतपत्रप्राप्त “क”, “ख”, र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन, परिमार्जन र थप गर्दै यो व्यवस्था कार्यान्वयनमा ल्याएका हौं, राष्ट्र बैंकले भनेको छ।
यो व्यवस्था अनुसार अन्तिम लेखापरीक्षण भएको पछिल्लो वित्तीय विवरणको आधारमा कायम रहेको प्राथमिक पुँजीको पाँच प्रतिशतभन्दा बढी सञ्चित नोक्सानी बाँकी नरहेका इजाजतपत्रप्राप्त संस्थाले बढीमा आफ्नो प्राथमिक पुँजीको शत प्रतिशतसम्मको डिबेञ्चर/अन्य ऋण उपकरण जारी गर्ने स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन पेश गर्नु पर्नेछ । त्यस्तो निवेदनका सम्बन्धमा राष्ट्र बैंकले आवश्यक शर्त तोकी डिबेञ्चर तथा अन्य ऋण उपकरण जारी गर्न स्वीकृति दिन सक्ने परिपत्रमा उल्लेख छ । यसअघि भने सञ्चित नोक्सानी बाँकी नरहेका इजाजतपत्रप्राप्त संस्थाले बढीमा आफ्नो प्राथमिक पुँजीको शत प्रतिशतसम्मको डिबेञ्चर÷अन्य ऋण उपकरण जारी गर्ने स्वीकृतिका लागि यस बैंकमा निवेदन पेश गर्नु पर्ने र त्यस्तो निवेदन माथि आवश्यक छानबिन गरी उपयुक्त ठानेमा यस बैंकले डिबेञ्चर तथा अन्य ऋण उपकरण जारी गर्ने स्वीकृति दिन सकिने व्यवस्था रहेको थियो।
परिपत्र अनुसार बैंक तथा वित्तीय संस्थाहरुले अविमोच्य असञ्चिति अग्राधिकार सेयरजारी गर्न सक्ने छन् ।, यसको लागि राष्ट्र बैकले इजाजतपत्रप्राप्त संस्थालाई शर्तहरुको अधीनमा रही अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न स्वीकृति दिन सक्नेछ । अविमोच्य असञ्चिति अग्राधिकार सेयरको भुक्तानी अवधि तोकी निष्काशन गर्न पाइने छैन । अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताले मात्र धारण गर्ने सुनिश्चित हुने गरी जारी गर्नुपर्ने, अविमोच्य असञ्चिति अग्राधिकार सेयर इजाजतपत्रप्राप्त संस्था स्वयंले निष्काशन गर्नु पर्ने, यस्तो सेयर पूर्ण रूपमा चुक्ता भएको हुनुपर्ने, अविमोच्य असञ्चिति अग्राधिकार सेयर कुनै पनि सुरक्षण नराखी निष्काशन गर्नुपर्र्ने शर्तहरु तोकिएका छन् । यसैगरी अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा लाभांश वितरण गर्ने वा नगर्ने सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार सम्बन्धित इजाजतपत्रप्राप्त संस्थामा निहित हुनुपर्ने र यससम्बन्धी व्यवस्था इजाजतपत्रप्राप्त संस्थाले विवरणपत्रमा स्पष्ट रुपमा खुलाउनुपर्ने छ । साथै, यस्तो सेयरमा प्रदान गर्ने लाभांश दर समेत विवरणपत्रमा स्पष्ट रुपमा खुलाउनुपर्ने र अविमोच्य असञ्चिति अग्राधिकार सेयरको लाभांश वितरण नाफा नोक्सान बाँडफाँड हिसाबमार्फत् चालु आर्थिक वर्षको मुनाफाबाट मात्र गर्नुपर्ने व्यवस्था रहेको छ । यसका लागि संचित मुनाफा खाता एवम् कुनै पनि कोष खर्च गर्न पाइने छैन, परिपत्रमा भनिएको छ।