बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुशील प्याकुरेलद्वारा राजदूत अस्वीकार

सोमबार, असार १० २०८१

काठमाडौँ । दक्षिण कोरियाका लागि राजदूत पदमा सिफारिस भएका मानवअधिकारकर्मी सुशील प्याकुरेलले उक्त पद अस्वीकार गरेका छन् ।

उनले आइतबार एक विज्ञप्ति जारी गर्दै सिफारिस फिर्ता लिनका लागि प्रधानमन्त्री कार्यालयमा औपचारिक रूपमा पत्र दर्ता गराइसकेको जानकारी गराएका छन् ।

असार ७ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार आफूलाई दक्षिण कोरियाको राजदूत पदमा नियुक्त गर्न सिफारिस गरिएको जानकारी सञ्चारमाध्यममार्फत पाएको पनि उनको विज्ञप्तिमा उल्लेख छ ।

‘मैले प्रस्ट शब्दमा उल्लेख गर्ने पर्छ, मलाई दक्षिण कोरियाको राजदूत पदमा सिफारिस गर्नु अघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद् सचिवालयबाट कुनै सम्पर्क वा सङ्केत समेत दिइएन । राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यदक्षता, रुचि, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थिति सम्बन्धी ज्ञानका विषयमा पूर्व विमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु’, उनको विज्ञप्तिमा भनिएको छ ।

राजदूत नियुक्ति सम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत गम्भीर विमर्श आवश्यक रहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।