समाज आवश्यकता भन्दा अधिक सिको तथा नक्कलले विकृत बन्दै गइरहेको छ ।समाजमा सरसहयोगको भावना हराउँदै गएको छ । नेपाली समाज दिनानुँदिन स्वार्थी बन्दै गइरहेको छ । समाजमा परोपकारी भावनाको अभाव खड्कीन थालेको छ । आफूमात्र, आफ्नोमात्र भन्ने भावनाको विकासले समाज नै विकृत बन्दैछ । सामाजिक मूल्य मान्यता, अरुप्रतिको सहानोभूति, दयामाया– परोपकार जस्ता कुराहरु हामीबाट हराउँदै गएको यथार्थ कसैले लुकाएर लुक्दैन ।
आधुनिकताको नाउँमा देखिएको सामाजिक विकृति, विसंगतिले दिनानुँदिन नेपाली समाज ग्रसित छ । आजका जल्दाबल्दा युवा तन्नेरीहरुमाझ आधुनिकताले समाजको रुपरंगमै गलत प्रकारको परिवर्तन देखिन थालेको छ । जसले समाजलाई कतै अवनतिको भर्र्याङ् तिर त डोर्याई रहेको छैन ? समाज विकासको क्रममा पश्चिमा मुलुकहरुले तुलनात्मक रुपमा हामी भन्दा फराकिलो फड्को मारेका छन् । उनीहरुको विकासको अनुशरण अथवा (सिको)नक्कल गर्ने परिपाटी हाम्रो जस्तो विकाशोन्मुख देशमा बढी पाइन्छ ।
पश्चिमी मुलुकहरूको शिको सिक्दै नेपाली समाजमा पाच्य–अपाच्य संस्कृतिको नाउँमा भित्रीएको गलत प्रवृत्तिले हाम्रो समाजलाई कता पुर्याउला । सामान्य खुशियाली साटासाटमा आयोजना हुने बडेमानका पाटी तथा परम्परागत रीतिरिवाजमा आयोजना हुने खर्चिला क्रियाकलाप विस्तारै अनिवार्य जस्तै भएका छन् । यस्ता प्रकारका क्रियाकलाप आधुनिकताका नाउँमा भित्रिएका विकृतिहरु हुन् । शहरमा यस्ता किसिमका गतिविध अधिक पाउन थालिएको छ ।
पुराना मूल्यमान्यता धर्मसंस्कृतिले समाजलाई टोर्याइ गति दिइरहेको हुन्छ । हामीले आफ्नो संस्कृति बिर्सदै जानी नजानी अरुको संस्कृतिको शिको सिक्दै वा नक्कल गर्दै गैरहेकाछौं । यो कति फलदायी हुन्छ ? आजका युवा पुस्तामा तुलनात्मक रूपमा अरुभन्दा बढी पश्चिमा अनुशरणले जरा गाडेको छ । युवा तन्नेरी माझ देखिएको पश्चिमा लवाइ खुवाइ देखि लिएर पश्चिमा गीत संगितको प्रभाव बढेको छ । जुन डरलाग्दो रूपमा शहर हुँदै गाउँ भित्रिदैछ । हामीले हाम्रो मौलिकता नै विर्सदै गएका छौं । आफ्ना अग्रजले दिएको परम्परागत शिक्षालाई नै भुलिरहेका छौं । आवश्यकता होस् या नहोस् अरुको शिको र नक्कलमा रमाएका छौँ । जुन पछि गएर हामीलाई अभिषाप बन्न सक्छ ।
परिवर्तनका नाउँमा सामाजिक शिक्षाको अज्ञानता तथा अभावको कारण नेपाली समाज विकृतिको चुङुलमा फस्दैछ । विज्ञानको विकासको क्रम संगै विकास भएको संचार जगत, मिडिया, दुर संचार, मोबाईल फोन, ईन्टरनेट , सामाजिक संजाल भित्रका फेसबूक, टुइटर, ह्याटसप जस्ता कुराको विकासले समाजको लगामलाई कता हिडाउँदै छ ? यसको सही सदुपयोग हुँदैछ की गलत, कति प्रतिशत मानिसले यसको सही सदुपयोग गरिरहेका छन् ? यसले सुविधाका नाउँमा समाजलाई कता लादैछ ? हामीले सोच्ने बेला भएन र ? सामाजिक संजालहरुको गलत प्रयोगलाई निरुत्साहित गर्न पहल कदमी कसले लिने ? समाजको परिधिभित्र रहेर ब्यक्तिले जीवन यापन गर्नु पर्छ, परिधि उल्लंघन गर्ने ब्यक्ति समाजमा कलन्कित हुन पुग्छ । समाजले निर्माण गरेको गोरेटोमा हिंड्न नजान्ने ब्यक्ति कलङ्कित हुन पुग्छ । पाठ्य पुस्तकको अलवा बालबालिकालाई सामाजिक शिक्षाको ज्ञानमा ध्यान पुर्याउनु आजको टट्कारो आवश्यकता हो । विद्यालय स्तरमा सामाजिक शिक्षाको अध्ययन अध्यापनमा जोड दिनु अनिवार्य भएको छ । सामाजिक शिक्षाको गहनता दिनानुदिन ओझेलमा पर्दै गएको छ । समाजमा ब्यक्ति सामाजिक बन्नबाट पन्छिन थालेको छ । यी र यस्ता प्रवृत्तिको विकासले भोलिको नेपाली समाज कस्तो होला ? सामाजिक जिम्मेवारी बोध हराएको समाज भित्र अधिक हिंसा हुने गर्छ । कतै वर्तमानमा देखिएको हिँसा त्यसैको उपज त होइन ? हामी कुन दिशातिर जाँदैछौं ? मानिस एउटा मोबाईल, ल्यापटपमा घन्टौं घोत्लिन्छ नजीकको ब्यक्ति संग उसलाई बोल्ने फुर्सद सम्म हुँदैन । दोस्रो ब्यक्तिको समस्यालाई सुनिदिने फुर्सद सम्म उसलाई छैन । यी र यस्ता उदाहरण हाम्रो सामु प्रशस्त छन् । यो कुरालाई बेलैमा शुक्ष्म रुपमा मनन् गर्न नसके हाम्रो समाज भोलि ठुलो समस्यामा पर्ने निश्चित छ । ब्यक्ति, राज्य पक्ष तथा सरोकार वाला निकायले बेलैमा ध्यान दिनु जरुरी छ ।
सामाजिक सञ्जालको लोकप्रीयतासँगै यसको दुरुपयोग पनि बढ्दो क्रममा छ । अश्लिल तथा उछृंकल गतिविध बढ्दो छ । आफूलाई जे ठीक लाग्यो उही त्यही भन्ने भावनाले अशिक्षित मात्र होइन शिक्षत ब्यक्तिले यसको झनै गलत प्रयोग गरिरहेका छन् । हो, बर्तमानको विकासका रुपमा सामाजिक संजाललाई लिन सकिन्छ । तर यसमा पनि नियम र कानुनको परिधि भित्र रहेर यसको प्रयोग हुनु जरुरी नै भएको छ । यसलाई निगरानी राख्न पङ्तिकारको आसय त्यो हो जसले समाज विकासलाई आवश्यक र सहि रूपमा डोर्यान सकोस, समाजलाई विकृति तिर नर्पुयाओस।यस्तो प्रकारको शिक्षा केवल सामाजिक शिक्षामा मात्र पाइन्छ । आजै घर–घरमा सामाजिक शिक्षाको महत्वलाई बुझी त्यस भित्रको ज्ञानलाई ब्यक्ति ब्यक्तिमा पुर्याउनु पर्छ नत्र समय धर्किन सक्छ । भोलि हामी पश्चतापमा पिरोलिनु शिवाय अर्को विकल्प नहुन सक्दछ । कसैको सिको र नक्कल गर्दैमा आधुनिक बन्न सकिदैन । आफ्ना धर्मसंस्कृति परम्परा र मुल्य मान्यतालाई विर्सनु किम्मार्थ सही होइन । तर यसको मतलव पुराना कुरिती अन्धविश्वासलाई अंगिकार गर्नु पक्कै पनि होइन ।
आधुनिकताले नै समाजको रुपान्तरण तथा विकास गर्ने कुरामा दुई मत नहोला । तर आधुनिकता र विकाससँगै रहेर समाज सुहाउँदो परिवर्तनमात्र पाच्य र दिर्घायू हुन सक्छ । समाजको रुपान्तरणको अर्थ सामाजिक समस्याको मूख्य कारण र त्यसको संरचनागत जटिलताको पहिचान गर्नु हो । थप सकारात्मक परिवर्तन सहज पार्नको लागि विद्यमान संस्थाहरुमा रहेको विश्व–दृष्टिकोण परिवर्तन गर्नु र राजनीतिक, आर्थिक र सामाजिक–सास्कृतिक क्षेत्रमा विद्यमान शक्ति सन्तुलन परिवर्तन गर्नु हो । सचेतनता, सामाजिक र सास्कृतिक विकासको तहलाई अझै फराकिलो पार्दै कुनैपनि शोषणमूलक समाज व्यवस्थामा जनता–जनता वीचको असमानतालाई अन्त्य गर्नु हो । सामाजिक रुपान्तरण हुनु भनेको व्यक्ति, संस्था, संस्कृति, सामाजिक संरचना र भौतिक उपयोगमा सकारात्मक परिवर्तन आउनु पनि हो । व्यक्तिमा– सचेतनता अभिवृद्धि, सामाजिक विषयहरुमा जागरुपता र भूमिका बदलिंदो रुपमा देखिनु र सरकार वा संस्थाको परिवर्तित नीति हो । यसका खातिर परम्परागत मुल्यमान्यता र चलिआएको धर्मसंस्कृति माथि नै प्रहार गरिनु पर्छ, त्यो होइन । रुपान्तरणका निमित्त सचेतना तथा शिक्षाको पहुँच गाउँ तहसम्म एवं. जनताका घरदैलो सम्म पुग्न र पुर्याउन सक्नु पर्दछ । जसले सहजै रुपमा समाजका विकृति विसंगतिहरुलाई चिर्न सक्दछ ।
जतिसक्दो चाँडो नेपाल जस्तो मुलुकमा निवास गर्ने हामी गरीब जनताले यसमा सचेत हुनु पर्दछ ।
विकासको चरम अवस्थामा पुगेका देशहरुको शिको गर्दै गरिएको नक्कल मिश्रित जीवनशैलीले हामी कता तिर लम्कदैछौ भन्ने कुराको हेक्का राखेर अघि बढ्नु पर्दछ । समाज र परम्परालाई ख्याल राख्नु आजको आवश्यकता हुनसक्ला । विकासलाई अंगिकार गर्ने नाउँमा विकृति भित्राइनु अवश्य फलदायी हुँदैन । संस्कृतिको विकास भनेकै समाज, हावापानी, माटो तथा वातावरणको प्रभावको कारणले प्रभावित हुन्छ । अरुको अनुशरण गर्ने प्रवृत्तिले नेपाली समाजले कुरुप हुनबाट जोगाउन सबैले पहल कदमी लिनु जरुरी छ ।