काठमाडौं । नेकपा (माओवादी केन्द्र) द्वारा कारबाहीमा परेका गण्डकीका सांसद फणीन्द्र देवकोटाले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
संसदीय दलको ह्वीप विपरीत मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रदेश सभाबाट विश्वासको मत दिएको भन्दै माओवादी केन्द्रले देवकोटालाई कारबाही गरेको थियो ।
देवकोटाले आफूमाथि भएको कारबाही गैरकानुनी रहेको भन्दै कार्यान्वयनमा रोक लगाउन माग गरेका छन्।
उनले आफू नेपाल समाजवादी पार्टीको सांसद भएको दाबी गरेका छन्।
राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा ४९ ले दिएको सुविधा प्रयोग गरी हसिया हथौडा चुनाव चिन्ह लिएको उनको भनाइ छ । तर, मनोनयन दर्ताका क्रममा र निर्वाचन आयोगको अभिलेखमा समेत आफू नेसपाकै सांसद भनी उल्लेख गरेको उनले दाबी गरेका छन्
देवकोटाले दल त्याग गरेको भनी दिइएको सूचना, प्रदेश सभा सदस्यबाट बर्खास्त गरिएको पत्र र सोसँग सम्बन्धित काम कारबाही उत्प्रेषणको आदेशले बदर गरी निर्वाध रुपमा नेसपाको प्रदेश सभा सदस्यको हैसियतले काम गर्न दिनु भनी परमादेशलगायत उपयुक्त आदेशको माग गरेका छन् । उनले रिटको अन्तिम टुङ्गो नलागेसम्म प्रदेश सभा सदस्यको हैसियतले पूर्ववत कामकाज गर्न अवरोध नगर्नु भनी अन्तरिम आदेश समेत माग गरेका छन् ।