दुई देशबिच भएका सहमति तथा सम्झौताको प्रभावकारी कार्यान्वयन हुनेमा विश्वास
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन् । सभामा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले सो जानकारी गराएक हुन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा भाग लिन मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री दाहालले गत जेठ २७ र २८ गते भारतको भ्रमण गरेका थिए । उक्त भ्रमण कुनै पूर्वनिर्धारित कार्यसूचीका आधारमा नभई फरक ढङ्गको भएको उनले स्मरण गराए ।
सो भ्रमणमा दुई देशका बीचमा बनेका द्विपक्षिय संयन्त्रहरुको बैठक सुचारु गर्ने विषयमा पनि गम्भीर रुपमा छलफल भएको उनले बताए ।
प्रधानमन्त्री दाहालले त्यसक्रममा पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत आयोजना एवं कृषि क्षेत्रमा सहकार्य गर्ने बारेमा पनि छलफल भएको जानकारी दिए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिइएको र मोदीले उपयुक्त समयमा भ्रमण गर्ने बताएको जानकारी दिए ।
प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम संसद्मा सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री दाहालले दिए ।
आजकै बैठकमा विनियोजन विधेयक, २०८१ माथि भएका छलफलमा क्रममा उठेका प्रश्नमाथि विभिन्न आठ मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।