काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) शाहले नगरसभा स्थगित भएपछि आक्रोश व्यक्त गरेका छन् ।
जेठ ३२ गते प्रस्तुत भएकाे आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाइएको नगरसभा बैठक एमाले र कांग्रेसका जनप्रतिनिधिले बहिष्कार गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत् मेयर शाहले आक्रोश पोखेका हुन् ।
मेयर साहले वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए । तर एमाले र कांग्रेसका सांसदहरुले बैठक बहिस्कार गरेर हिँडेपछि १५ औं नगरसभाका दोस्रोे बैठक असार १० गतेसम्मका लागि स्थगित भएको छ ।
न्यूरोडको नयाँ सडकलाई नो भेइकल जोन बनाउने प्रस्ताव मेयर शाहले नगरसभामा पारित गराउन खोजेको भन्दै असन्तुष्टि जनाएर केही कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेका थिए ।
मेयर शाहले ३ नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन् भएको बताएका छन् । काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारे छलफल बन्द कोठामा नहुने उनको भनाइ छ । ‘३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन् भयो । काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारे छलफल बन्द कोठामा हुँदैन,’ उनले लेखेका छन्, ‘जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।’
‘नगर सभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रूपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ,’ उनले लेखेका छन्, ‘बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौं महानगर पालिकाले गर्दैन । काठमाडौं महानगरपालिकाको नगर सभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।’