काठमाडौं । टिकटक प्रतिवन्धबारे संसदमा फेरि प्रश्न उठेको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा यस्तो प्रश्न उठेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन माग गरे ।
शून्य समयमा सांसद शाहले अपराध र विकृति रोक्न भनेर गरिएको प्रतिबन्धको औचित्य पुष्टि हुन नसेकेको बताए ।
‘गत कात्तिक २७ गतेसम्म प्रतिबन्ध अघि ९० लाखले टिकटक चलाइरहेका थिए भने अहिले भीपीएनबाट ५० लाखले चलाइरहेको अनुमान छ । टिकटिकको विकल्पमा रिल लगायत चलिरहेको छ । अपराध र विकृति फैलिएको भन्दै टिकटकमा लगाएको प्रतिवेदन के भयो ?,’ उनले भने, ‘बरु दुरसञ्चार प्रदायक कम्पनीले डाटाबाट अरबौं रुपैया गुमाएका छन, सानो व्यवस्था गरेका मर्कामा परेका छन् ।’
समाजमा उच्छृंखलता र नकारात्मकता फैलाएको भन्दै सरकारले २०८० कात्तिक २७ बाट टिकटकमा प्रतिबन्ध लगाएको थियो ।