पोखरा । ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएका गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटालाई नेकपा माओवादी केन्द्रले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशकी प्रमुख सचेतक कुसुम बुढाले पार्टीद्वारा जारी ह्वीप उलंघन र दलको विधानविपरीत गरेका २४ घण्टे स्पष्टीकरण सोधिएको जानकारी दिइन् ।
डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता देवकोटा २०७९ को निर्वाचनमा गोरखाबाट माओवादीको चुनाव चिह्नबाट निर्वाचित भएका हुन् ।
दलको ह्विप उल्लंघन गरेको भन्दै माओवादीले देवकोटालाई कारबाही प्रक्रिया थालेको थियो । देवकोटा मंगलबार पाण्डे नेतृत्वको सरकारमा ऊर्जामन्त्री बनेका छन् ।
आफूलाई स्पष्टीकरण सोधिएको र माओवादीले स्पष्टीकरण सोध्ने र कारबाही गर्ने हकदाबी नराख्ने जवाफ दिएको देवकोटाले बताए ।
माओवादीले मंगलबार २४ घण्टे स्पष्टीकरण सोधेकोमा उनले बुधबार दल नेता हरिबहादुर चुमानलाई जवाफी पत्र बुझाएका हुन् ।
सांसद देवकोटाको हकमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २८, ३२, ४९ आकर्षित हुन्छ । यो दफा हेर्दा उनलाई सांसद पदबाटै हटाउन सक्ने बलियो आधार नेकपा (माओवादी केन्द्र)सँग छैन । उक्त ऐनको दफा २८ (१) ले सचेतकले ह्वीप जारी गर्न सक्ने व्यवस्था गरेको छ ।
ह्वीप पालना नगर्नेको हकमा उक्त ऐनको दफा २८ को उपदफा ३ मा भनिएको छ, ‘उपदफा १ बमोजिमको निर्देशन पालना नगर्ने सदस्यको विवरण सचेतकले सम्बन्धित दलको केन्द्रीय समितिलाई दिनुपर्नेछ ।’ देवकोटाको राजनीतिक दल नेसपा हो । उनले नेसपालाई लेबी तिर्छन्, निर्वाचन आयोगको रेकर्डमा पनि त्यही छ । तर, माओवादीले ऐनकै अर्को धारा प्रयोग गरेर देवकोटालाई कारबाही गर्न सक्छ जसले गर्दा यो विषय सर्वोच्चसम्म पुग्ने देखिन्छ ।
माओवादीले उनलाई ऐनको दफा ४९ (४) देखाएर कारबाही गर्न सक्छ । उक्त उपदफामा भनिएको छ, ‘उपदफा (३) बमोजिमको संसदीय दलका सदस्यले दफा २८ को उपदफा (१) विपरीतको कार्य गरेमा त्यस्तो सदस्यले दलत्याग गरेको मानिनेछ ।’ यो उपदफाले सचेतकको ह्वीपविपरीत गतिविधि गरेको भएर दल अर्थात् माओवादीले नै सभामुखलाई कारबाहीको पत्र लेख्न सक्छ ।
देवकोटा २०७९ को निर्वाचनमा गोरखाबाट माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित भएका थिए। गण्डकी प्रदेश सभाको रेकर्डमा उनी नेसपाका सांसद हुन्।