काठमाडौं । आजबाट जनकपुरमा जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन हुँदैछ ।
अध्यक्ष उपेन्द्र यादवले पहिलो पटक महाधिवेशको सामना गर्न लागेका छन् । २०६३ मा मधेशी जनअधिकार फोरम गठन भएदेखि नेतृत्वमा रहेका उपेन्द्रले यसपालि पहिलो पटक महाधिवेशनको सामना गर्न लागेका छन् ।
महाधिवेशनमा सहभागी हुने मधेश प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकहरूले भोलि बेलुकी ५ बजेसम्म दर्ता गरिसक्नु पर्नेछ । अन्य प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकहरूले जेठ २८ गते बेलुकी ५ बजेसम्म दर्ता गर्न पाउने उनले बताए ।
जसपा नेपालको केन्द्रीय निर्वाचन समितिले प्रतिनिधि तथा पर्यवेक्षकका लागि दर्ता शुल्क पन्ध्र सय रुपैयाँ तोकेको छ ।
केही समय अघिमात्र पार्टी विभाजन पछि उपेन्द्र नेतृत्वको हाइसञ्चोमा छन् । अशोक राई, राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राईलगायतले पार्टी फुटाएर जसपा गठन गरेपछि उपेन्द्रविरुद्ध नेतृत्वमा कसैले दाबी गर्ने अवस्था नभएको बताइन्छ । पार्टीले पहिलो पटक एकताको महाधिवेशन गर्न लागेको जानकारी दिँदै सर्वसम्मत नेतृत्व चयनको प्रयासको तयारी छ ।
महाधिवेशनले २० जना पदाधिकारीको निर्वाचन गर्ने प्रचार विभाग प्रमुख बस्नेतले बताए । उनका अनुसार महाधिवेशनले अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १, २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गर्नेछ ।
जसपा नेपालले महाधिवेशनमा पदाधिकारी तथा केन्द्रीय सदस्यको उम्मेदवार बन्न योग्यताको व्यवस्था गरेको छ । पदाधिकारी तथा सदस्य पदको उम्मेदवार हुन पार्टी विधानको धारा २५ मा न्यूनतम योग्यता निर्धारण गरिएको प्रचार विभाग प्रमुख बस्नेतले बताए ।
केन्द्रीय समितिको पदाधिकारीका लागि उम्मेदवार हुन केन्द्रीय समितिको सदस्य वा प्रदेशरराष्ट्रिय समितिको अध्यक्ष भई कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्नेछ । त्यसैगरी केन्द्रीय समितिको सदस्यको उम्मेदवार बन्न सङ्गठित पार्टी सदस्य भई कम्तीमा १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय समिति वा केन्द्रीय निकाय वा प्रदेशरराष्ट्रिय समितिको सदस्य वा केन्द्रीय विभागको सदस्य वा जिल्ला समितिको पदाधिकारी वा जनवर्गीय सङ्गठनको केन्द्रीय पदाधिकारी भई एक कार्यकाल वा लगातार पाँच वर्षसम्म काम गरेको हुनुपर्नेछ ।
महिला, दलित, श्रमिक, मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम र अपाङ्गता भएका व्यक्तिको हकमा भने लगातार पाँच वर्ष वा एक कार्यकाल जिल्ला समिति वा प्रदेश÷राष्ट्रिय समिति वा जनवर्गीय सङ्गठनको केन्द्रीय समितिको पदाधिकारी भई काम गरेको भए पुग्नेछ ।
खिइँदै गयो उपेन्द्रको शक्ति
२०६४ को पहिलो संविधानसभाको निर्वाचनमा ५२ सिट ल्याई संसद्को चौथौ शक्ति भएका तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो त्यो लोकप्रियता र शक्ति लामो समयसम्म टिकाउन सकेनन्।
यसबीच विभिन्न पार्टीसँगको एकता र फुटले उनको शक्ति कमजोरमात्र बनेन मधेशमा समेत उनको लोकप्रियता खस्किँदै गएर गत आम निर्वाचनमा उनी आफैँले पराजयको सामना गर्नु परेको थियो । सप्तरीमा उपेन्द्र जनमतका अध्यक्ष सिके राउतसँग पराजित बनेका थिए । पछि वारामा भएको उपनिर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका उनी विजयी बन्दै संसद प्रवेश गरेका हुन् ।
यतिबेला उनी पाँचजना सांसदका नेता भएका छन्। उनको पार्टी झन्डै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरह भएको छ । २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा यादवले नेतृत्व गरेको तत्कालीन मधेसी जनअधिकार फोरम नेपालले प्रत्यक्ष्यतर्फ ३० र समानुपातिकतर्फ २२ सिट ल्याएको थियो।
कुनै समय यादवको नेतृत्वमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, विजयकुमार गच्छेदार अशोक राई, महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, रामकुमार शर्मालगायतका नेता उपेन्द्रसँग जोडिएर एउटै पार्टीमा थिए । तर, उनीहरू लामो समय उपेन्द्रसँग बस्न नसकेपछि अलग्गिए सकेका छन्।
२०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा जसपाले १२ सिट ल्याएको थियो । तर, जसपा फुटेर हाल पाँच सिटमा सीमित भएको छ।