काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मौजुदा मन्त्रिपरिषदमा तत्कालै पुनर्गठन गर्ने तयारीमा छन् ।
आगामी साताभित्र कसै गरेपनि मन्त्रिपरिषद् पुनर्गठन भइसक्ने देखिएको छ । सत्तारुढ दल एकीकृत समाजवादीको गुनासो लगायत सरकार विस्तारबारे प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरिसकेका छन् ।
विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टीलाई सहभागी गराएर प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले नाउपाकी नेतृ रंजिता श्रेष्ठलाई आफ्नो पार्टीका नेतालाई हटाएर भएपनि पर्यटनमन्त्री बनाउने तयारी थालेको समाचार बाहिरिएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले केही दिनभित्रमा मन्त्रिपरिषद् पुनर्गठन हुने जानकारी दिए । श्रेष्ठ आफैंले पनि नाउपा सरकारमा सहभागी हुने पक्का भइसकेको जानकारी दिएकी थिइन् ।
यस अघि पनि श्रेष्ठ प्रचण्डको सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेकी थिइन् ।
प्रतिनिधि सभामा नाउपाका ४ सांसद छन् ।