धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।
केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले बुधबार उनले पाँचौँपटक विश्वासको मत लिन लागेका हुन् ।
पछिल्लोपटक सत्ता गठबन्धन मध्येको नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले उनीप्रतिको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि नेता यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था सृजना भएको हो ।
कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
यसअघि बहुमत सांसदको समर्थन पाउँदै आएका मुख्यमन्त्री यादवलाई यस पटक भने विश्वासको मत पाउने सम्भावना निकै कमजोर देखिएको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव निकट मानिने मुख्यमन्त्री यादवलाई नेपाली काँग्रेसले मात्र विश्वासको मत दिने निर्णय गरेको छ । यस हिसाबले मुख्यमन्त्री आबद्ध पार्टी जसपाका १९ र काँग्रेसका २२ गरी ४१ सांसद उनको पक्षमा देखिएका छन् ।
१०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ जना सांसदको समर्थन आवश्यक पर्छ । यहाँ केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरूले जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी गरेका छन् । एमालेका सभामुखबाहेक २४, माओवादीको ९, जनमत पार्टीको १३ र एकीकृत समाजवादीका ७ सांसद छन् ।