शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

चर्को गर्मीमा विद्युत कटौति गरेको भन्दै सांसदहरुको आपत्ति

सोमबार, जेष्ठ २१ २०८१

काठमाडौं । देशका विभिन्न शहरहरुमा विद्युत कटौति हुने गरेकोमा सांसदहरुले आपत्ति जनाएका छन् ।

तराई, मधेसमा चर्को गर्मीको सामना गरिरहेका जनतालाई थप कष्ट दिनेगरी विद्युत आपूर्ति पनि कटौति गरिएको भन्दै सोमबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले आक्रोश व्यक्त गरेका हुन् ।

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) की सांसद दीपा शर्माले ४४÷५४ डिग्रीको चर्को गर्मीको सामना गरिरहेको नेपालगंजमा अघोषित रुपमा विद्युत कटौति हुने गरेको भन्दै आपत्ति जनाइन् । उनले जनतालाई गर्मीबाट तत्काल राहत दिन पनि विद्युत आपूर्ति व्यवस्थालाई तत्काल सहज बनाउन सरकारसँग माग गरिन् ।

सांसद शर्माले भनिन, ‘नेपाल लोडसेडिङ मुक्त देश भयो । तर कुनै बेला दैनिक ६ घण्टा विद्युत उपयोग गर्न पाएका देशभरका उपभोक्ता नागरिकहरु देश लोडसेडिङ मुक्त भएसँगै उज्यालोमा रम्न पाए । तर बिडम्बना बाँके लगायत कर्णाली प्रदेशका जनताले भने लोडसेडिङ मुक्त भएको अनुभूति गर्न पाएका छैनन । नेपालगञ्ज उपमहानगरपालिका लगायत बाँके जिल्लाभरी नै विद्युत आपूर्ति अनियमित भएका कारण ४४/४५ डिग्रीको तापक्रममा बाँकेबासीको जनजीवन असामान्य र कठिन बनेको छ । घोषित होइन, अघोषित लोडसेडिङका कारण अस्पताल, उद्योगधन्दा विद्यालय, सञ्चारका सबै माध्यमहरु र सबै कार्यालयहरुलाई काम गर्न कठिन भएको छ । यथाशिघ्र यो असामान्य र कठिन अवस्थालाई सामान्य र सहज बनाउन विद्युत आपूर्ति नियमित र पर्याप्त उपलब्ध गराउन र त्यसको व्यवस्थापन गरी विद्युत कटौति नगर्न दिर्घकालीन समस्या समाधान गर्न म सरकारसँग ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद तेजुलाल चौधरीले पनि जनतामा थप मारमा पार्नेगरी विद्युत कटौति नगर्न सरकारलाई दबाब दिए । उनले गर्मीले जनताको जीवन कष्टकर बन्दै गएकाले सरकारले विद्युत आपूर्ति सहज बनाउन तत्काल ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

सांसद चौधरीले भने, ‘नेपाल विद्युत प्राधिकरणले व्यापक रुपमा विद्युत कटौति गरी राखेको छ । त्यसकारण तराई मधेसमा व्यापक रुपमा गर्मीको महशुस र जीवन कष्टकर बन्दै गएको छ । यस्तो अवस्थामा विद्युत कटौति नगरीदिन म सरकारसँग जोडदार माग गर्न चाहन्छु । साथै चुरे दोहन व्यापक रुपमा भएको छ । यसको नियन्त्रण हुनुप¥यो ।’