काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएका छन् ।
उनले न्युरोडमा पेटी बनाउन सडक काट्न अवरोध भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आरोपित गरेका छन् ।
मेयरको निर्देशनमा भएको सडकको चौडाइ कटाउने कार्य सडक डिभिजनले रोकेको छ । संयोगवश भौतिक पूर्वाधार मन्त्री एमालेकै रघुवीर महासेठ र न्युरोडका वडाध्यक्ष पनि एमालेकै भएकाले बालेन एमाले नेतृत्वप्रति नै खनिएका हुन् ।
उनले भनेका छन्- १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईँको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।
न्युरोडको सडक काट्ने काम डिभिजनले रोकेकै दिन बालेनले रिङरोड विस्तारमा ढिलाइ गरेको भन्दै सडकको धुलो संकलन गरेर विभाग अगाडि फालेका थिए भने मन्त्रीको घरमा समेत फाल्ने चेतावनी दिएका थिए ।