काठमाडौं । सार्वजनिक शौचालय प्रयोगकर्तासँग शुल्क नलिन सञ्चालक तथा व्यवस्थापकलाई काठमाडौं महानगरपालिकाले अनुरोध गरेको छ ।
महानगरपालिकाले सूचना जारी गरी सार्वजनिक उपयोगमा रहने गरी निर्माण गरिएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयहरुमा सेवाग्राहीसँग कुनै शुल्क नलिने व्यवस्था गर्न भनेको हो ।
हाल काठमाडौं उपत्यकाभित्र सञ्चालित सार्वजनिक शौचालय प्रयोग गरेवापत सेवाग्राहीले कम्तिमा ५ देखि १५ रुपैयाँसम्म बुझाउनुपर्ने बाध्यता छ ।
सार्वजनिक शौचालयका सञ्चालक र व्यवस्थापकहरुलाई आज जेठ १८ गतेदेखि १५ दिनभित्र महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइमा लिखित प्रस्ताव पेश गर्न पनि भनिएको छ ।
सो समयअवधि पश्चात् महानगरपालिका भित्रका सबै सार्वजनिक शौचालयहरु निःशुल्क सञ्चालन गर्नुपर्ने महानगरपालिकाले जनाएको छ ।
सूचना विपरीत सार्वजनिक शौचालय प्रयोग बापत कुनै प्रकारको शुल्क असुल गरेमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने महानगरपालिकाले कारबाही गर्ने सूचनामा उल्लेख छ ।
