काठमाडौं । माधवकुमार नेपाल नेपाली कांग्रेससहितको विपक्षी दलको मोर्चासँगको छलफलमा सामेल भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग छलफल गरेका छन् ।
बुधबार एकीकृत समजवादीका अध्यक्ष माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलको छलफलमा देउवा निवास बूढानीलकण्ठ गएका थिए ।
त्यसको भोलि पल्ट प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अर्का नेता खनालसँग भेटवार्ता गरेका हुन् । भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको नेता खनालको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न पूर्वप्रधानमन्त्री खनाल आज बिहान नौ बजे बालुवाटार पुगेका थिए ।
भेटमा समसामयिक राजनीति, संघीय सरकार, प्रदेश सरकार र वाम एकताका विषयमा छलफल भएको खनालको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । सरकारलाई सुदृढ बनाउने विषयमा पनि छलफल भएको उनले बताए ।
पछिल्ला दिनमा अध्यक्ष नेपाल प्रचण्ड सरकारलाई छाडेर वैकल्पिक गठबन्धन बनाउने पक्षमा छन् भने नेता खनाल भने यहि सरकारलाई बलियो बनाउनुपर्ने मत राख्दै आएका छन् । जुन कुराले एकीकृत समाजवादी भित्र मतभेद बढ्दै गएको छ । जसले पार्टी फुटको अवस्थासम्म पुग्नसक्ने आँकलन हुन थालेका छन् । यसैबीच उनीहरुको दुई बीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।