शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

माधव नेपालको दोहोरो चरित्र : सत्तामा बसेर विपक्षसँग उठबस

बिहिबार, जेष्ठ १७ २०८१

काठमाडौं । माधव नेपाल नेतृत्वको सत्तारुढ घटक नेकपा एकीकृत समाजवादीले दोहोरो चरित्र देखाएको छ ।

प्रचण्ड नेतृत्वको सरकारमा सामेल भएको एकीकृत समाजवादी यतिबेला विपक्षी मोर्चाका मिटिङ र भेलामा सहभागी भइ बैकल्पिक गठबन्धनको कसरतमा सामेल छ । यसबाट अध्यक्ष माधव नेपालले  सत्तामा बसेर विपक्षसँग उठबस गरिरहेका छन् ।  उनको यो चरित्र केवल प्रधानमन्त्री हुने आकांक्षा बाहेक अरु केही नभएको टिप्पणी हुन थालेको छ । अघिल्लो सरकारमा मुखैमा आएको प्रधानमन्त्री पद समीकरण फेरिएपछि गुमेको चिन्तामा उनी पिरोलिएका छन् । त्यसका लागि उनी सके यहि गठबन्धनबाट नभएर अर्को बैकल्पिक गठबन्धन गरेरै भएपनि प्रधानमन्त्री बन्ने धाउन्नमा छन् ।

एकीकृत समाजवादीको केन्द्रमा जम्मा १० सांसद छन् ।

केन्द्रिय सरकारमा दुई मन्त्री र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको जिम्मेवारी पाएको एकीकृत समाजवादीका अध्यक्ष नेपाल बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक गठबन्धन निर्माणको प्रयासमा साथ दिन देउवा निवास बूढानीलकण्ठको छलफलमा खुलेआम पुगे।

देउवाले बुधबार सत्तारूढ नेकपा एकीकृत समाजवादीसहित विपक्षी दलहरू जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसँग छलफल गरेका थिए । नेकपा एसका अध्यक्ष नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरूसँग देउवाले आफ्नै निवासमा छलफल गरे ।

मुख्य विषय मधेश प्रदेशको सरकारसँग सम्बन्धित भए पनि राष्ट्रिय राजनीतिका अन्य पाटोहरूमा पनि छलफल भएको बताइन्छ । विश्वस्त सूत्रका अनुसार प्रदेशदेखि संघसम्म नयाँ राजनीतिक कोर्स अगाडि बढाउनेबारे छलफलमा सहभागी दलहरूबीच अधिकतम सहमति बनेको छ ।

हाल मधेश प्रदेशमा जसपा नेतृत्वको सरकार छ । मुख्यमन्त्री सरोजकुमार यादवलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने बाध्यता छ । मधेश सरकार सहितका अन्य सम्भावित सहकार्यबारे सभापति देउवाले नेताहरूसँग परामर्श गरेका थिए । ‘सभापतिजीले मुख्यतः मधेश प्रदेश सरकारबारे छलफल गर्न चाहनुभएको हो । मधेशमा दुई वा दुईभन्दा बढी दलको नेतृत्वमा रहेको सरकार जोगाउने र सबैभन्दा ठूलो दल नेकपा एमाले नेतृत्वमा सरकार बन्ने वातावरण बन्न नदिने विषयमै छलफल भएको छ’, कांग्रेसका एक नेताले भने । संवादको थालनी मात्रै भएकाले परिणामको लागि अझै पर्खनुपर्ने उनको भनाइ थियो ।

सत्तामा रहेपनि आफूहरु सरकारको तमासा हेरिरहेको बताउँदै आएका माधव नेपाल पछिल्लो समय खुलेर विपक्षी मोर्चाको बैठकमा पुगेका छन् । हिजो गठबन्धन फेरिँदा सुइकोसम्म नदिएको गुनासो गर्दै सरकारमा सामेल हुन आनाकानी गरेका माधव नेपाल यति बेला सत्ता गठबन्धनले आफूलाई बेवास्ता गरेको, कुनै पनि निर्णयमा सामेल नगराएको भन्दै गुनासो पोखिरहेका छन् ।

केही दिन अघि उनले भनेका थिए ‘हाम्रो पार्टीलाई बेवास्ता गर्ने गरिएको छ, पत्रपत्रिकाबाट थाहा पाउनुपर्ने अवस्था छ’ । केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनलेराष्ट्रिय राजनीतिमा जुनसुकै बेलामा जेसुकै हुनुपर्ने अवस्था रहेको बताएका थिए। उनले सत्ता समीकरणमा आफूहरूलाई बेवास्ता गरेको भन्दै सरकारमा बस्नेरनबस्ने भन्ने जुनसुकै बेलामा निर्णय हुनसक्ने संकेत गरेका थिए । नभन्दै यति बेला माधव नेपालका गतिविधि सरकारबाट बहिर्गमनको दिशा उन्मुख छन् ।

पछिल्ला केही बर्षका गतिविधिलाई नियाल्ने हो भने माधव नेपाल कांग्रेससँग त्यो पनि देउवासँग नजिकिन चाहान्छन् । प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँगको समीकरण बनाएपछि उनी प्रचण्डसँग पनि खुशी छैनन् । लतारिएर अहिलेको सत्ता गठबन्धनसँग जोडिएपनि उनको जोड देउवासँगै छ ।

माधव नेपालले केही समय अघि भएको पार्टीको पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकमा ५७ पेजको राजनीतिक प्रतिवेदनमा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आगो ओकलेका थिए ।

२२ शीर्षकमा समेटिएको राजनीतिक प्रतिवेदनका अधिकांश हरफ र सन्दर्भमा नेपालले एमाले र केपी ओलीको कटु आलोचना गरेका छन् । उनले एमालेबाट आफूहरूले गरेको ‘विद्रोह’ जायज थियो भन्ने पुष्टि भएको तर्कसमेत गरेका छन् ।

नेपालले एमालेबाहेकका राजनीतिक दलहरूको सन्दर्भमा भने राप्रपा र रास्वपाबाहेक अन्यको आलोचना गरेका छैनन् । उनले रास्वपालाई सस्तो लोकप्रियताले सर्वसाधारणमा भ्रम सिर्जना गरेर प्रतिक्रियावादको सेवा गर्ने शक्ति भनेका छन् भने राप्रपालाई पश्चगामी र सामन्ती चरित्रको सेवा गर्ने पार्टी भनेका छन् ।

एउटै सत्ता समीकरणमा रहेर एमालेप्रति यति आक्रोश र आलोचना ओकल्नु भनेको सत्ता गठबन्धनबाट बाहिरिने संकेत उनले दिइसकेका छन् । जसको परिणाम स्वरुप उनले बुधबार देउवाले बोलाएको विपक्षी मोर्चाको बैठकमा सामेल देखाएको प्रष्ट हुन्छ ।

सत्ता गठबन्धनमा सामेल भएकै बेला उपेन्द्र यादवको जसपा नेपाल २३ वैशाखमा एकाएक विभाजन भयो । पार्टी विभाजन हुँदा यादव अमेरिकामा थिए । संघीय संसदमा रहेका १२ मध्ये सात सांसदले उनको साथ छोडेर अशोक राई नेतृत्वमा दल दर्ता गरेसँगै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भित्र पनि एउटा त्रास सिर्जना भएको छ । जसपा नेपाल विभाजनको उपेन्द्रको मुद्दा अदालतमा विचराधिन छ । उत्त मुद्दाको फैसला उपेन्द्रको पक्षमा आए नयाँ मुभ लिने दाउमा माधव नेपाल रहेको चर्चा छ ।

सरकारमै बसेर गठबन्धनलाई कमजोर पार्ने र वैकल्पिक गठबन्धनको गृहकार्यमा लागेका माधव प्रति सत्तारुढ दुई ठूला दलका शीर्ष नेता प्रचण्ड र केपी शर्मा ओलीले अब के गर्लान् भन्ने आम चासो बढेको छ ।