शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

सिरोहियाको अनुसन्धानमा किन भइरहेको छ विलम्ब ?

मंगलबार, जेष्ठ १५ २०८१

जनकपुरधाम । जिल्ला अदालत धनुषाले नागरिकतासम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न सोमबार आदेश जारी गरेको छ ।

योसहित उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न तीन पटक म्याद थप भएको छ । अघिल्लो हप्ता पक्राउ परेका उनलाई ३ पटक ३ दिनको समय थप हुँदै अनुसन्धान अघि बढेको छ ।

कीर्ते नागरिकतामा पक्राउ परेका सिरोहियाको अनुसन्धानमा किन बिलम्व भइरहेको छ ? भन्ने पनि आम चासो बढेको छ । स्रोतका अनुसार ढड्डाको हस्ताक्षरसहित विभिन्न विषयमा गहिरो अनुसन्धान र ल्याब टेस्टका कारण उनको अनुन्धानमा केही ढिलाे भएको हो ।

सिरोहियाको नागरिकताबारे परेको जाहेरीबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।   जिल्ला प्रहरी कार्यालय धनुषामा वैशाख १६ गते झुटो विवरण दिई विदेशी नागरिकले किर्ते नागरिकता बनाएर प्रचलनमा ल्याएको दाबी गर्दै कारबाहीको माग गर्दै जाहेरी दर्ता भएको थियो। जिल्ला प्रशासन कार्यालय धनुषाबाट जारी भएको सिरोहियाको नागरिकताको नम्बर र धनुषाकै अर्का व्यक्तिको नाममा जारी भएको नागरिकता नम्बर एकै रहेको खुलिसकेको छ।

सिरोहियाको नागरिकताको प्रतिलिपिमा नागरिकता लिएको पूरा मिति उल्लेख नभई ‘२०३३/०३४ को रेकर्ड अनुसार’ मात्र उल्लेख छ। उनकै नागरिकताको नम्बरमा अर्को व्यक्तिको नाममा जारी भएको नागरिकता २०३६ भदौ २० गते जारी भएको देखिन्छ। दुवै नागरिकताको प्रकार वंशज रहेको छ। अहिले प्रहरीले सिरोहिया र दोस्रो व्यक्तिको नाममा नागरिकता जारी हुँदा पेश भएका प्रमाण, जिल्ला प्रशासन कार्यालय धनुषामा सिरोहिया र दोस्रो व्यक्तिबारे रहेको कागजपत्र, नागरिकता दर्ता पुस्तिका, निर्णयको आधार र निर्णय गर्ने पदाधिकारीबारे विवरण संकलन गरेर अनुसन्धान गर्दैछ।

अनुसन्धान स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालयमा रहेको दर्ता पुस्तिकामा सिरोहियाको नाममा जारी नागरिकताको विवरण रहेको पन्ना च्यातिएको अवस्थामा फेला परेको छ। फोटोसहितको विवरण पुस्तिकामा उनको विवरण छ। तर, नागरिकता जारी भएका अन्य व्यक्तिको हकमा तस्बिरसहित राखिएको दर्ता पुस्तिकामा सबै विवरण दुरुस्त रहे पनि सिरोहियाको नाममा नागरिकता जारी गर्ने अधिकृतको नाम र हस्ताक्षर छैन। दर्ता पुस्तिकामा सिरोहियाको तस्बिर रहेको तर उनको तस्बिरमा नागरिकता जारी गर्ने अधिकृतको हस्ताक्षर नभएको स्रोतको दाबी छ ।

सिरोहियाले उनको नागरिकताबारे जिल्ला प्रहरी कार्यालय धनुषामा परेको जाहेरीबारे प्रतिक्रिया सार्वजनिक गर्दै २०३३–३४ मा लिएको नागरिकताबाहेक अन्य नागरिकता नलिएको र २०५७ मा प्रतिलिपि मात्र निकालेको दाबी गरेका छन्। उनले २०३४ मा नागरिकता लिएपछि २०३६ मा अरू कसैका नाममा त्यही नम्बर लेखिएको छ भने त्यसमा आफ्नो जिम्मेवारीको विषय नहुने भन्दै आएका छन् ।

न्यायाधीश यदुराज शर्माको एकल इजलासले अध्यक्ष सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषामा सोमबार थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश जारी गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रन्जन आवाले जानकारी दिए ।

प्रहरी कार्यालय धनुषाले अध्यक्ष सिरोहियाको नागरिकतामा जन्ममिति खुलाएर गरिएको हस्ताक्षरको ‘फरेन्सिक’ परीक्षणका लागि पठाइएको र त्यो ‘रिपोर्ट’ आउन बाँकी रहेकाले थप अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न जिल्ला सरकारी वकिलमार्फत उक्त अदालतमा मागसहित उनलाई पेस गरिएको थियो ।

प्रहरी अनुसन्धानमा रहेका आरोपित सिरोहियाको पक्षमा अधिवक्ता विनोद शर्मा, रमण कर्ण, दिनेश त्रिपाठी तथा किशोर पौडेलले बहस गरेका थिए ।

उच्च रक्तचाप र मुटुमा समस्या भएको भन्दै दोस्रो पटकको म्याद थपदेखि उनी सुविधा सम्पन्न काव्या अस्पताल जनकपुरमा उपचार गराइरहेका छन् । प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण सुविधा नभएकाले काव्या अस्पतालमा रिफर गरिएको भनिएको छ । सोमबार पनि अस्पतालको एम्बुलेन्समा राखेर उनलाई अदालत उपस्थित गराइएको थियो ।