काठमाडौं । वरिष्ठ हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाको बचाउमा बोलेकोप्रति क्षमायाचना गरेका छन् ।
सिरोहिया पक्राउ परेपछि कान्तिपुर टीभीले महजोडीसँग प्रतिक्रिया लिएको थियो । त्यस क्रममा उनीहरूले लोकतन्त्रको लागि कान्तिपुरको योगदान र सिरोहिया पनि लडेको बताएका थिए । तर अदालतमा विचाराधीन यस विषयमा अपर्झट बोल्दा केही गल्ति हुन पुगेको भन्दै क्षमा मागेका हुन् ।
महजोडीको अभिव्यक्ति विवाददित भएपछि उनीहरूको सामाजिक सञ्जालमा आलोचना भएको थियो ।
कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका उनीहरूले त्यहीँबाट भिडिओ सन्देश जारी गर्दै दर्शकसँग माफी मागेका हुन् ।
भिडियो सन्देशमा मदनकृष्णले भनेका छन्, ‘अस्तिनै हामी एउटा एफएममा बसेर अष्ट्रेलिया आउने विषयमा छलफल गरिरहेका थियौं, त्यही बेला त्योभन्दा गम्भीररूपमा अर्को अदालतमा विचाराधीन विषयमा पत्रकार साथीहरू बसेर कुराकानी गरिरहनु भएको रहेछ । एउटा मुडमा बसिरहेको बेला अपर्झट टीभीमा बोल्ने प्रस्ताव आयो । हामी अक्मकियौं के बोल्ने ?कसो बोल्ने ? भनेर । अपर्झट बोल्दा केही त्रुटि हुन गएको महसुस भएको छ ।’
‘अदालतमा विचाराधीन मुद्दाको विषयमा नबोलेको भए हुन्थ्यो । हामीबाट त्रुटि भयो । आफ्नै मान्छे सम्झिएर माया गरिदिनुभएको छ । सबै कुरा बिर्सिएर माफी दिन अनुरोध गर्छौं ।’ हरिवंशले थपेका छन् ।