बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

संसदीय छानबिन समिति कार्यदलको बैठक बस्दै

शनिबार, जेष्ठ १२ २०८१

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तय गर्न गठित कार्यदलको बैठक आज पनि बस्दैछ ।

बैठक दिउँसो ३ बजे कानून, न्याय र संसदीय मामिला मन्त्रालयमा बस्ने कार्यदल सदस्य तथा एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

समिति गठनको क्षेत्राधिकारका बारेमा कार्यदलमा पटक पटक छलफल भए पनि सत्ता पक्ष र प्रतिपक्षबीच उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने लगायतको नाम उल्लेख गर्ने वा नगर्ने विषयमा सहमति हुन सकेको छैन।

यसअघि हिजो अपराह्न बालुवाटारमा भएको शीर्ष नेताहरु सम्मिलित बैठकले आजको कार्यदल बैठकमा सत्तापक्ष र प्रतिपक्षबाट आ–आफ्ना प्रस्ताव पेस गर्ने सहमति भएको छ ।

प्रमुख प्रतिपक्ष दल सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेकाले उनको नामै किटेर उनी संलग्न सहकारी तथा संस्थामा छानबिन हुनेपर्ने माग राख्दै आएको छ भने सत्ता पक्ष व्यक्ति केन्द्रित समिति बन्न नसक्ने अडानमा छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उक्त प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संघीय संसदका दुवै सदन चल्न नदिने अडान राख्दै बैठक अवरुद्ध गर्दै आएको छ ।

यसबीचमा शुक्रबार नै गृहमन्त्री रवि लामिछानेले एमाले अध्यक्ष केपी ओली शर्मासँग बालकोट पुगेर भेटघाट गरेका थिए । त्यस अघि एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।