काठमाडौं । सहकारीको रकम अपचलन सम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक बिना निस्कर्ष सकिएको छ ।
शुक्रवार बिहान सिंहदरबारमा बसेको कार्यादलको बैठक बिना निस्कर्ष सकिएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गदै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बैठक सकारात्मक रुपमा अघि बढिरहेको र कार्यादेश बनाउने गरी बैठक उन्मुख भएको बताए । नेपाली काँग्रेसबाट निरन्तर उठाउँदै आएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गर्नुपर्ने कुराबाट कँग्रेस पछि हटेको र काँग्रेसले गृहमन्त्री संलग्न रहेको भनिएको र ऋण लिएको भनिएको विषयमा तोकेर कार्यादेश बनाउने कुरा अघि बढेको बर्ताैलाले बताए ।
उनले उपप्रधानमन्त्री लामिछानेले ऋण लिएको भनिएको सहकारीको नाम किटान गरेर अघि बढ्ने कुरामा सकारात्मक वार्ता भएको बताए ।
यता कांग्रेसका सहमहामन्त्री जीवन परियारले भने आफूहरू उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम नराखी सहमति जनाउने पक्षमा नरहेको बताएका छन्।
उनले भने, ‘यो बैठक अन्तिम टुंगोमा पुगिसकेको भन्ने छैन। हामीले उठाउँदै आएको विषय आज पनि राखेका छौँ। सत्तापक्षबाट हिजो एउटा ड्राफ्ट प्राप्त भएको थियो। त्यसका बारेमा हामीले स्पष्ट लिखित दृष्टिकोण लिखित रूपमा राखेका छौँ।’