काठमाडौं । प्रमखु प्रतिपक्ष दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेका छन्।
आजै १५ मिनेटका लागि स्थगित बैठक पुनःसुरु भएलगत्तै कांग्रेसका सांसदहरूले आसनबाट उभिएर विरोध जनाउनुका साथै वेल घेराउ र नाराबाजी गरेका थिए । पुनः सुरू भएको बैठकमा पनि कांग्रेस सांसदको वेल घेराउ र नाराबाजी गरेका थिए ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले बेल घेराउ गरिरहेकै अवस्थामा रोष्ट्रम पुगेका प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेका हुन्।
उनले भने, ‘प्रतिपक्षका साथीहरूलाई मेरो आग्रह छ, हामी सबैको गन्तव्य राष्ट्रनिर्माण नै भएकाले यही गन्तव्यका लागि विश्वासको मत दिनुस्।’
सरकारले सबैजसो मोर्चामा सार्थक उपलब्धि र गौरव हासिल गर्दागर्दै पनि जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले फेरि देशमा देखिएको चुनौतीलाई सम्बोधन गर्न सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए ।