बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

७ सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै सर्वोचमा उपेन्द्रले दायर गरेको रिटको आज पेशी

सोमबार, जेष्ठ ७ २०८१

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल छाडेका ७ जना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज पेशी तोकिएको छ ।

जसपा नेपाल छाडेका अशोक राईसहित ७ सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा मतदानमा र अरु संसदीय गतिविधिमा पनि रोक लगाउन रिटमा माग गर्दै अध्यक्ष यादवले आइतबार रिट दायर गरेका थिए ।

यसअघि पनि यादवले आफ्नो दल छाडेर गएका सांसद र नेताहरुले दर्ता गरेको नयाँ दल जनता समाजवादी पार्टी दर्ता नगर्न आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चले पार्टी दर्ता प्रक्रिया यथास्थितिमा राख्न निर्वाचन आयोगलाई आदेश दिएको थियो ।

जसपा नेपालका अध्यक्ष यादवले नयाँ पार्टी गठन गरेका सात सांसदलाई विश्वासको मतको प्रक्रियामा सहभागी गराउन नमिल्ने भन्दै सभामुखलाई पत्रसमेत पठाएका छन्।

संघीय संसद सचिवालयमा दर्ता भएको उनको निवेदनमा सांसदहरू अशोककुमार राई, नवलकिशोर साह सुडी, रञ्जुकुमारी झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसिना खान, सुशीला श्रेष्ठलाई विश्वासको मतको प्रक्रियामा सामेल नगराउन अनुरोध गरेका छन् ।

अशोकको जनता समाजवादी पार्टीको दर्तालाई लिएर सर्वोच्च अदालतले निर्णयहरू यथास्थितिमा राख्न प्रारम्भिक आदेश दिएको स्मरण गराउँदै यादवले कुनै दलको तर्फबाट निर्वाचित भएको जनप्रतिनिधिले पदावधि कायम रहेसम्म दल त्याग गर्न नपाउने कानूनी प्रावधान रहेको निवेदनमा जिकिर गरेका छन् ।