काठमाडौं । आज बिहान ११ बजे बस्नेगरी तय भएको प्रतिनिधिसभाको बैठक आजै दिउँसो २ बजेका लागि सारिएको छ ।
प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले विशेष कारणबस तोकिएको समयमा बैठक बस्न नसकेपछि समय परिवर्तन गरिएको जानकारी दिए ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठाउँदै आएको सहकारीको रकम हिनामिना सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा दलहरू सहमत भए पनि समितिको कार्यादेश टुङ्गो लाग्न सकेको छैन । छानबिन समितिको कार्यादेशबारे अहिले दलहरुबीच छलफल चलिरहेको छ ।
आजै बसेको प्रतिपक्षी दलहरुको बैठकले छानबिन समिति गठन गर्ने र त्यसपछि मात्रै संसद्को कार्यसूची अघि बढ्न दिने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन गर्ने र त्यसको कार्यादेश टुङ्गो लागेपछि संसद्को कार्यसूची अघि बढ्ने बताए ।
आज संसद् भवनमा भएको विपक्षी दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँँदै लेखकले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्दा अवरोध नगर्ने र संसदीय छानबिन समिति गठनको टुङ्गो लागेपछि मात्रै संसद्को कार्यसूची अघि बढ्न दिने निर्णय भएको बताए । “अहिले हामी विपक्षमा रहेका सबै राजनीतिक दलहरुबीच छलफल भएको छ । छानबिन समिति बनाउने विषयलाई सबैले सकारात्मकरुपमा लिएका छौँ । छानबिन समिति बनाउने र त्यसपछि संसद्का अरु कार्यसूचीमा प्रवेश गर्ने भन्ने छलफल भएको छ”, लेखकले भने, “गृहमन्त्रीले बोल्नका लागि समय माग्नुभएको छ । त्यसमा हामी अवरोध गर्दैनौँ । हामी उहाँलाई सुन्न तयार छौँ तर सरकारी विजनेसमा प्रवेश गर्नुभन्दा अघि छानबिन समिति बनाउने र उक्त समितिको कार्यादेश टुङ्ग्याइसक्नुपर्ने हुन्छ ।”
छानबिन समितिको कार्यादेशका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच अहिले पनि छलफल चलिरहेको लेखकले बताए । कार्यादेश टुङ्गो लागेर छानबिन समिति बनेपछि संसद्का गतिविधि सहजरुपमा अघि बढ्ने उनको भनाइ छ ।
शनिबार राति बसेको बैठकमा सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकारी संस्थाको सम्पत्ति हिनामिना भएका विषयमा संसदीय छानबिन समिति गठन गर्ने सहमत भएका थिए ।