काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक सञ्चालनका सम्बन्धमा प्रमुख सचेतकहरुसँग छलफल गर्दैछन् ।
सभामुख घिमिरेले प्रमुख सचेतकहरुसँगको बैठक बिहान साढे १० बजे आह्वान गरेका हुन् ।
प्रतिनिधि सभाको बैठक भने बिहान ११ बजे तय भएको छ ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसको निरन्तरको अवरोधले रोकिएको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।
शुक्रबार बिहान ११ बजे बस्ने गरी बोलाएको बैठक २ बजेलाई सारिएको थियो । २ बजे बस्ने भनिएको बैठक बस्दै नबसी आइतबार बिहान ११ बजेसम्मको लागि स्थगित गरिएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताको संयुक्त बैठकमा सहकारी प्रकरणमा छानबिन समिति गठन गर्ने समझदारी भएको छ ।
बिहीबारको बैठकमा कांग्रेस र एमाले सांसदहरुबीच धकेलाधकेल स्थिति उत्पन्न भएको थियो ।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएको थियाे ।
शनिबार सत्ता र प्रतिपक्ष दलहरुबीच संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको छ ।
आज बिहान साढे ८ बजे कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बसेको छ ।