काठमाडौं । सहकारी ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका लागि आज बिहान साढे ८ बजे कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बस्दै छ ।
सत्ता र प्रतिपक्ष दलहरुको शनिबार बसेको बैठकमा सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो ।
तर, त्यसको कार्यादेश भने टुंगिएको छैन । कार्यादेश टुंग्याउन कानुनमन्त्री पदम गिरीको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरिएको छ । उक्त कांर्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दल कांग्रेसबीच संसदीय समिति बनाउने सहमति जुटेको थियो । त्यसपछि कार्यदल बनाइएको हो ।
यता आजै बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । कार्यदलमा सहमति भएर समिति गठन भएमा प्रतिनिधिसभा सुचारु हुन सक्ने सम्भावना छ ।