काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रमुख प्रतिपक्षी दल कांग्रेसको निरन्तरको अवरोधले रोकिएको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।
शुक्रबार बिहान ११ बजे बस्ने गरी बोलाएको बैठक २ बजेलाई सारिएको थियो । २ बजे बस्ने भनिएको बैठक बस्दै नबसी आइतबार बिहान ११ बजेसम्मको लागि स्थगित गरिएको थियो ।
बिहीबारको बैठकमा कांग्रेस र एमाले सांसदहरुबीच धकेलाधकेल स्थिति उत्पन्न भएको थियो ।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएको छ ।
शनिबार सत्ता र प्रतिपक्ष दलहरुबीच संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको छ । तर, समितिको कार्यदेश (टीओआर) भने टुंगिन बाँकी छ । आज बिहान साढे ८ बजे कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बस्दै छ ।
कार्यादेश टुंगो लगाउन नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको छ । उक्त समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् ।
आजको संसद बैठकमा भने गृहमन्त्रीले बोल्ने कार्यसूची रहेको छ । संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको कार्यसूचीमा ६ वटा विषय छन् ।
पहिलोमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । त्यसपछि सभामुखले नै प्रतिनिधिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्ने कार्यसूची छ ।
तेस्रो कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्नेछन् । त्यसैगरी सभामुखले राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
