काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।
बिहीबार प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी कांग्रेसले अवरोध गरेपछि आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने अडान राखेको छ। बैठक सुरु हुने बित्तिकै प्रतिपक्षले अवरोध गरेपनि सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए। त्यसपश्चात गृहमन्त्री लामिछानेलाई बोल्न समय पनि दिएपनि लामिछाने बोल्न पाएनन्। कांग्रेसले निरन्तर अवरोध गरेपश्चात संसदमा सहकारीको रकम हिनामिनाबारे आफूमाथि लागेको आरोपबारे गृहमन्त्री लामिछानेले जवाफ दिन पाएका छैनन्।
शुक्रबारको बैठकमा धकेलाधकेल, सत्ता पक्ष र प्रतिपक्षबीच मुठभेटको अवस्थासमेत भएपछि बैठक स्थगित भएको हो।
प्रतिनिधि सभा बैठक बस्ने, नबस्ने अन्योल कायमै छ। सहकारीको बचत अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ । यसैक्रममा बिहीबारको बैठकमा तनाब सिर्जना भएको थियो ।
आजको बैठकमा कसरी प्रस्तुत हुने भन्ने नीति तय गर्न कांग्रेसले शुक्रबार बिहानै संसदीय दलको बैठक बोलाएको छ । दलहरुबीच सहमति नहुँदा आजको बैठक पनि नियमित सुचारु हुनेमा आशंका छ।
