बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्री प्रचण्डले सोमबार चौथोपटक विश्वासको मत लिने

शुक्रबार, जेष्ठ ४ २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ७ गते पुनः विश्वासको मत लिने भएका छन् । यो सँगै उनी यो कार्यकालमा चौथो पटक विश्वासको मत लिन लागेका हुन् ।

जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसदको कार्यसूचीमा राख्न प्रधानमन्त्री दाहालले संघीय संसद सचिवालयमा पत्र पठाएको सभामुखको सचिवालयले जनाएको छ ।

यस विषयमा प्रधानमन्त्री दाहालले सभामुख देवराज घिमिरेलाई जानकारी गराइसकेका छन् ।

सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले प्रधानमन्त्री कार्यालयबाट विश्वासको मत लिनेबारे पत्र प्राप्त भएको र सचिवालयले त्यस अनुसार तयारी थालिसकेको जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन आवश्यक हुन्छ ।

२०७९ साल पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो ।

यसअघि कांग्रेस सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले ३० फागुनमा तेस्रो पटक विश्वासको मत लिएका थिए ।

उनले ६ चैतमा दोस्रोपटक र २६ पुसमा पहिलोपटक विश्वासको मत पाएका थिए ।