काठमाडौं । १७औँ संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेट प्रतियोगितामा आज सनराइजर्स हैदराबाद र गुजरात टाइटन्स भिड्दैछन्। आजको खेल जिते हैदराबादले प्ले अफमा आफ्नो स्थान सुरक्षित बनाउनेछ । खेल हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।
जारी सिजनको आईपिएलमा आजको ६६ औं खेल हो।
जारी सिजनको आईपीएलमा हैदराबादले खेल्न लागेको यो १३औँ खेल हो । हैदराबाद यसअघि खेलिएको १२ मध्ये सात खेलमा विजयी र पाँच खेलमा पराजित भएको छ । हैदराबाद १४ अंकसहित तालिकाको चौथो स्थानमा आसिन छ । यसपछि पनि हैदराबादले एक खेल खेल्न बाँकी रहने छ ।
यसैगरी गुजरातले भने जारी सिजनको आईपीएलमा खेल्न लागेको यो १४औँ खेल हो । गुजरातले यसअघि खेलिएको १३ मध्ये पाँच खेलमा जित र सात खेलमा हारको नतिजा निकालेको छ । गुजरातको एक खेल भने अनिर्णित रुपमा सकिएको थियो । गुजरात ११ अंकसहित तालिकाको आठौँ स्थानमा आसिन छ । लिग चरणमा गुजरातको यो अन्तिम खेल हो ।
इन्डियन प्रिमियर लिगमा हालसम्म सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबिच कुल चार खेल खेलिएको छ । त्यसमध्ये तीन खेलमा गुजरातले हैदराबादलाई हराएको छ । एक खेलमा भने हैदराबादले गुजरातलाई पराजित गरेको छ ।
आईपीएलको १७औँ संस्करणमा हैदराबाद र गुजरात आपसमा भिड्न लागेको यो दोस्रो पटक हो । यसअघि आफ्नो घरेलु मैदानमा खेलिएको खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको थियो ।