बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

‘सहकारी ठगीको प्रमाण यहाँ छ गृहमन्त्रीज्यू’ भन्दै नेविसंघको प्रदर्शन

बुधबार, जेष्ठ २ २०८१

काठमाडौं । सहकारी ठगीमा गृहमन्त्रीमाथि छानबिनको लागि दबाब दिन कांग्रेसको भ्रातृ संगठन नेविसंघले विरोध प्रदर्शन गरेको छ ।

नेविसंघले काठमाडौंको त्रिचन्द्र कलेज अगाडि पोष्टरसहित प्रदर्शन गरेको छ । नेविसंघका विद्यार्थीले गृहमन्त्री लामिछानेविरुद्ध चर्को नाराबाजी गरेका थिए । ‘सहकारी ठगीको प्रमाण यहाँ छ’, ‘रवि दाई खै जिवी राई’ लगायतका भन्ने ब्यानर प्रदर्शन गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली सहकारी ठकको प्रवक्ता भएको उनीहरुको आरोप छ ।

कांग्रेसले संस्थागत निर्णय गरेरै सहकारीको ठगीमा गृहमन्त्री लामिछानेको प्रत्यक्ष संलग्नता रहेको भन्दै संसदीय छानबिन समितिको माग गरेको छ ।

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय समिति बनाउनु पर्ने माग राख्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ भने उसका भ्रातृ संगठनले सडक प्रदर्शन गरेका छन् । कांग्रेस भ्रातृ संगठन महिला संघले हिजो मंगलवार प्रदर्शन गरेको थियो ।

सरकार छानविन समिति बनाउन तयार छैन भने गृहमन्त्री लामिछाने भने आफूलाई संसद्‌मा पहिले बोल्न दिनुपर्ने र त्यसपछि समिति बनाउने विषयमा छलफल गरिनुपर्ने माग गर्दै आएका छन् । प्रतिपक्ष दल कांग्रेस गृहमन्त्रीलाई संसदमा बोल्न नदिने बरु संसद नै अवरुद्ध पारिरहने पक्षमा छ ।