शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

‘पुजार सार्की’ को ‘जाऊँ माया’ बोलको गीत सार्वजनिक

बुधबार, जेष्ठ २ २०८१

काठमाडौं । यही जेठ १० गते विश्वभर एकसाथ रिलिज हुने चलचित्र ‘पुजार सार्की’ मा समावेश ‘जाऊँ माया’ बोलको गीत सार्वजनिक भएको छ ।

बि पाण्डेको शब्द, सुवास भुसालको संगीत र केतन क्षत्रीको स्वर रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

ओएसआर डिजिटल युट्युब च्यानलमार्फत मंगलबार सार्वजनिक गरिएको गीतका दृश्यहरूमा पुजारको चरित्रमा रहेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीको प्रेम र पीडालाई देखाइएको छ ।

त्यस्तै मैतबहादुरको भूमिकामा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको प्रेम प्राप्तिको सकसलाई पनि स्थान दिइएको छ । गीतका दृश्यबाट अन्तरजातीय प्रेमबाट उब्जिएका सामाजिक र पारिवारिक समस्यालाई प्रस्ट पार्न खोजिएको छ ।

यो गीतका शब्दले समाजले प्रेम अस्वीकार गरेपश्चात नौ डाँडा काटेर जान प्रेमीकालाई आग्रह गरेको कुरा जनाउँछन् ।

चलचित्रमा आर्यन, अञ्जना, प्रदीप, परीक्षासँगै पल शाह, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्दरमण पराजुली, राजेश बिसुराललगायतको अभिनय छ ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा सुवास भुसालको निर्माण छ । किंगडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र नेपालमा आरआर फिल्मस्ले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ ।

राजेश श्रेष्ठको डिओपी रहेको चलचित्रमा भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर ग्रेडिङ तथा हिमाल केसीको द्वन्द्व छ । चलचित्रको पोष्टर डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका छन् ।