बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सन्दीपको मुद्दामा आज पनि सुनुवाइ, फैसला आउने सम्भावना कति ?

बुधबार, जेष्ठ २ २०८१

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस हुँदै छ ।

लामिछानेले बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

मंगलबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दाको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासले नै सन्दीपको मुद्दाको फैसला गर्नेछ ।

गत पुस २५ गते जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

कुनै ठुलो प्रकारको फेरबदल नभए न्यायाधीशले आजै फैसला सुनाउनेछन् । दुवैतर्फका वकिलहरूको बोल्ने क्रम नसकिएपछि हिजो मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ । सोही इजलासले आज सुनवाइलाई निरन्तरता दिने छ । मुद्दा हेर्दाहेर्दैमा राखिएपछि त्यही इजलासले टुंग्याउने न्यायिक अभ्यास छ ।

सन्दीपको तर्फबाट दुईजना र गौशला २६ को तर्फबाट ४ जनाले आज बहस गर्नेछन्। त्यसपछि दुवैतर्फबाट जवाफी बहस पनि हुनेछ । त्यसपछि न्यायाधीशद्वय शुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालले फैसला सुनाउनेछन् ।

लामिछाने निर्दोष सावित भए तत्काल क्रिकेटमा फर्कन सक्नेछन् र टी २० विश्वकप खेल्नसमेत पाउने छन् ।

जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका लामिछाने पुनरावेदनका गत फागुन १० गते उच्च अदालत पाटन गएका थिए ।

जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्षको कैद सजाय सुनाएको छ ।

सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भइरहेको हो ।