काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधि सभामा नाराबाजी गर्दै बैठक अवरुद्ध पारेको छ ।
मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलवारको संयुक्त सदनमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा धन्यवाद ज्ञापन गर्ने कार्यसूचि रहेपनि काँग्रेसले संसद अवरुद्ध पारेको हो ।
काँग्रेसले सहकारी रकम हिनामिना प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समितिको माग राखेर संसद अवरुद्ध पार्दै आएको छ ।
आजको बैठकमा पनि काँग्रेसले सोही विषयमा संसदीय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध पारेको हो । प्रतिनिधि सभाको अर्को बैठक जेठ ३ गते बिहीवार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।