काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र भ्रष्टीकरण र पदलोलुपताको प्रवृत्ति खतरनाक रुपमा देखापरेका पार्टीभित्र भ्रष्ट प्रवृत्ति देखिएको बताएका छन् ।
मंगलवार पार्टीको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
उनले पार्टीभित्र भ्रष्टीकरण र पदलोलुपताको प्रवृत्ति खतरनाक रुपमा देखापरेको भन्दै यस्तो अवस्था रहेमा आफूहरुलाई कसैले विश्वास नगर्ने बताए ।
आफूहरुले राजनीतिको भ्रष्टिकरणका विरुद्धमा स्पष्ट अडान र तदनुरुपको गतिविधिहरु सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले पार्टी फुट्ने हल्ला चलाइएको भन्दै यसप्रति सचेत हुनुपर्ने समेत बताए ।
पार्टीभित्रको असन्तुष्टिहरु छलफल गरेर टुंगो लगाउन सकिने उनको भनाई छ । उनले एकीकृत समाजवादीलाई धराशयी पार्न खोज्नेहरुले त्यस्तो हल्ला चलाएको बताए ।
अध्यक्ष नेपालले राजनीतिक समिकरण दिनदिनै परिवर्तन भइरहेको भन्दै सोचेभन्दा अलग ढंगले अगाडी बढिरहेको बताए । कतिपय शक्तिहरु षड्यन्त्रपूर्ण ढंगले सबै पार्टीभित्र अन्तरबिरोध पैदा गरेर शक्ति वृद्धि गर्न लागेका बताए ।
अध्यक्ष नेपालले भने, ‘राष्ट्रिय राजनीतिमा अहिले नै आजभोलि नै के हुन्छ भन्ने कुराले प्रभावित पारिरहेको छ, सुदूरपश्चिम, मधेश र बागमती प्रदेशमा के होला ? आजको सदनमा कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम बाचन गर्न दिने, राष्ट्रपतिले बाचन गरेपछि टेबुल गर्ने र छलफल गरेपछि पास गर्ने कुरा हुन्छ । यी सबै कुरामा जटिलता आउनसक्छ, सरकारले कसरी हेरिरहेको छ ? सत्ताधारी र विपक्षी दलहरूले कसरी आफ्नो कुरा अगाडि बढाइरहेका छन्, हामीले जानकारी लिनुपर्छ ।’
उनले सत्ता समीकरणमा आफूहरूलाई बेवास्ता गरेको भन्दै सरकारमा बस्ने/नबस्ने भन्ने जुनसुकै बेलामा निर्णय गनुपर्ने हुनसक्ने संकेत गरे । उनले सरकारको नीति तथा कार्यक्रम निर्माणमा पनि आफ्नो दललाई कुनै जानकारी नगराइएको गुनासो पोखे।